
थाहा नगरपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै “पशु सुत्केरी भत्ता” कार्यक्रमलाई समावेश गरेको छ। सार्वजनिक गरिएको बजेट विवरण अनुसार सो कार्यक्रमका लागि रू.२ लाख पचास हजार बजेट विनियोजन गरिएको छ।
वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले पशुपालनलाई आत्मनिर्भर र व्यवस्थित बनाउने उद्देश्यले पशु सुत्केरी भत्ता कार्यक्रम अघि बढाइएको जानकारी दिए। उनले भने, “हाम्रा किसानहरू अझै पनि परम्परागत तरिकाबाट पशुपालन गर्दै आएका छन्। उनीहरूलाई आधुनिक र प्रोत्साहनात्मक उपायबाट समर्थन गर्न आवश्यक छ। सुत्केरी भएको पशुलाई उचित स्याहार गर्ने प्रबन्ध मिलाउन यो भत्ता उपयोगी बन्नेछ।”
उनले थपे, “हामी कृषिमा मात्र नभई पशुपालनमा पनि आत्मनिर्भर बन्ने दिशामा अघि बढ्दैछौं। यो कार्यक्रमले गाउँका किसानलाई आर्थिक रूपमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ।”
यस बाहेक वडा नं. ३ ले कुल १६ वटा कार्यक्रम समावेश गरी ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ, जसमा कृषि विकास, साना पूर्वाधार विकास, गृहिणी प्रोत्साहन ऊर्जा प्रवर्द्धन,शैक्षिक बिकास,रोजगार मुलक साना पुर्वाधार बिकास, लगायतका विभिन्न विषय समेटिएका छन्।
पशुपालनमै आत्मनिर्भर हुने सोचसहित अघि बढाइएको पशु सुत्केरी भत्ता कार्यक्रमले वडाका किसानहरूमा सकारात्मक सन्देश फैलाउने र पशु व्यवसायलाई थप व्यवसायिक बनाउने विश्वास लिइएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan