
हेटौंडा, जुन ५ – “प्लास्टिक प्रदूषण अन्त्य गरौँ” भन्ने नाराका साथ आज विश्वभरि विश्व वातावरण दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। सो अवसरमा वातावरण संरक्षण, जलवायु न्याय र दिगो भविष्यका पक्षमा क्रियाशील सम्पूर्ण नागरिक, विज्ञ, समाजसेवी, महिला, युवा तथा सरोकारवालामा शुभकामना दिँदै वातावरणीय जिम्मेवारीप्रति व्यवहारिक प्रतिबद्धता जनाउन आह्वान गरिएको छ।
नेपालको जैविक विविधता, कृषि प्रधान अर्थतन्त्र तथा हिमाल, पहाड र तराईको संवेदनशील भू-परिस्थितिमा प्लास्टिक प्रदूषण गम्भीर समस्याका रूपमा देखा परिरहेको सन्दर्भमा, सरोकारवाला निकायहरूद्वारा यो दिवसलाई चेतनामूलक पहलका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
एक सन्देशमार्फत उच्चस्तरीय सरकारी प्रतिनिधिले प्लास्टिकजन्य प्रदूषणलाई प्रतिस्पर्धी पूँजीवादी प्रवृत्तिको प्रत्यक्ष परिणामका रूपमा चित्रण गर्दै यसले जनस्वास्थ्य, खाद्य सुरक्षा, जलस्रोत तथा जैविक प्रणालीहरूमा दीर्घकालीन असर पारिरहेको बताएका छन्।
प्रधानमन्त्रीको हैसियतले वातावरणीय विषयलाई नीतिगत प्राथमिकता दिँदै जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको समस्याको अन्तर्राष्ट्रिय मञ्चहरूमा दृढ आवाज उठाएको उल्लेख गर्दै हरित ऊर्जा, जलवायु अनुकूलन रणनीति र वातावरणमैत्री नीतिका पक्षमा देशलाई अघि बढाउने प्रयास स्मरण गरिएको छ।
सन्देशमा जलवायु न्यायको सवालमा राष्ट्रिय मात्र नभई विश्वव्यापी खबरदारी र सामूहिक सक्रियता आवश्यक रहेको उल्लेख गरिएको छ। यदि आज निर्णायक कदम चाल्न नसकिए आगामी पुस्ताले भयावह वातावरणीय संकटको सामना गर्नुपर्ने स्पष्ट चेतावनी दिइएको छ।
अन्त्यमा, विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा प्लास्टिक प्रयोग कम गर्ने, पुनःप्रयोग र पुनःचक्रणलाई प्राथमिकता दिने, वातावरणमैत्री जीवनशैली अपनाउने र वातावरणीय न्यायका पक्षमा बुलन्द आवाज उठाउने आग्रह गरिएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan