
मकवानपुर, १२ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासन अभियानको रुपमा लिएको उल्लेख गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
बुधबार प्रचण्डले सामाजिक संजालमार्फत भिडियो सम्बोधन गर्दै सुशासनको पक्षमा जनमत जाहेर गर्न मतदातालाई आग्रह गरेका हुन्।
प्रचण्डले भने, ‘म अपिल गर्न चाहन्छु, सुशासनको अभियानलाई सफल पार्न यो उपनिर्वाचनमार्फत जनताको अभिमतका निम्ति विशेष रुपले अनुरोध गर्न चाहन्छु । किनकि यो उपनिर्वाचनले नेपाली जनतामा भोलिको आम निर्वाचनका लागि पनि नयाँ सन्देश दिनेछ । सुशासनको पक्षमा साँच्चै नेपाली जनता भ्रष्टाचारविरुद्ध रहेको प्रमाणित गर्ने अवसर पनि हो ।’ उनले भने, ‘यो निर्वाचनलाई अवसरको रुपमा लिएर देशमा व्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध एउटा नयाँ परिस्थिति सृजना गर्नका निम्ति माओवादी केन्द्रका उम्मेद्वारहरुलाई मतदान गरौं । र उपनिर्वाचनमार्फत एउटा नयाँ सन्देश दिऔं । देशमा सुशासनको पक्षमा सबै खाले बेथितिविरुद्ध अभियान सुरु गरौं ।’
उनले सुशासनको अभियानलाई साथ दिन अपिल गर्दै उपनिर्वाचनमा भ्रष्टाचारविरुद्ध अभियानको रुपमा लिएको जनाएका छन् । ‘यो उपनिर्वाचन पनि मूलतः हाम्रो तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान बढाउने महासंकल्पका रुपमा, देशमा सुशासन कायम गर्ने, सामाजिक न्यायसहित आर्थिक समृद्धिका पक्षमा अगाडि बढाइरहेका छौं,’ उनले भनेका छन्, ‘आफ्नो नेतृत्वको सरकारबाट देशमा सुशासनको पक्षमा, भ्रष्टाचारको पक्षमा, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध देशमा आर्थिक संकटबाट मुक्त गर्ने निकै प्रयास गरेको थिएँ । त्यसको परिणाम देशमा सकारात्मक भाव पैदा भएको थियो र छ ।’
मंसिर १६ गते विभिन्न कारण रिक्त भएका स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुँदैछ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan