
मकवानपुर, २२ कात्तिक । सरकारी कागजात किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोगमा मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष राजन दंगाललाई पुर्पक्षका लागि भीमफेदी कारागार चलान गरिएको छ ।
बुधबार जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले सरकारी कागजात किर्तेको अभियोगमा दंगाललाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश गरेको अदालतका अधिकृत दिलीप राईले जानकारी दिए । उनीविरुद्ध गतअसार दोस्रो हप्ता अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
दंगाल चार महिनापछि बुधबार अदालतमा उपस्थिति भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पास सम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालयमा गुरुङको श्रीमान् भारतीय मूलका एमसी परेराले विगत ६ महिना अगाडि वडाध्यक्ष दंगालसहित ७ जनाविरुद्ध जाहेरी दिएको मकवानपुर प्रहरीले जनाएको छ । गुरुङको नाममा उमादेवीको ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
गुरुङको २०७४ भदौ २६ मा मृत्यु भएको थियो । उनका श्रीमान् परेरा चितवनको भरतपुरमा बस्दै आएका थिए । उनका दुई छोरी र एक छोरा अमेरिकामा छन् ।
प्रहरीले गत असारमा वडाध्यक्ष दंगाल, वडा सचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलून, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले उनीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा अदालतमा मुद्दा दायर गरेको थियो।
बकैया–४ का ४६ वर्षीय ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले २०८० मंसिर १८ मा मृत्युदर्ता र नाता प्रमाणित लगायतका कागजात तयार पारिदिएका थिए । सोही घटनामा संलग्न रहेको आरोपमा वडा सचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले गत असार २१ गते पुर्पक्षका लागि कारागार पठाएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष दंगाल नेकपा एमालेको तर्फबाट २०७४ र २०७९ को स्थानीय निर्वाचनमा उम्मेद्वार भई दुबै पटक बिजयी भएका थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan