
काठमाडौं । नेपाली किसानद्वारा उत्पादित दूधले बजार नपाइरहेको समयमा केही डेरी व्यवसायीले लुकीछिपी भारतीय दूध भित्र्याइरहेको पाइएको छ । केही डेरी व्यवसायीले नेपाल–भारत सीमा क्षेत्रमा चिलिङ सेन्टर खोलेर भारतबाट आउने दूध संकलन गरी काठमाडौंसम्म ल्याउने गरेको स्थानीयबासीको भनाइ छ ।
सर्लाहीका किसान विशेश्वर रायले नेपालको सीमा क्षेत्रमा भारतको झोल दूधमात्र नभएर प्याकेट पनि छ्यापछ्याप्ती पाउन थालेको बताए । भारतका व्यापारीले मोटरसाइकल तथा साइकलमा दूध ल्याएर नेपालका डेरी उद्योगीलाई बेच्ने गरेको उनको भनाइ छ ।
भारतबाट खरिद गरिएको दूध काठमाडौं, चितवन मिल्क र पोखराको सुजल डेरीसम्म पुग्ने गरेको बताइन्छ । चितवन मिल्कका एक अधिकारीले भने, ‘हाम्रो कारखानामा पनि भारतीय दूध आउँछ, नेपाली दूधमा मिसावट हुन्छ तर भारतीय दूधमा त्यति मिसावट हुँदैन ।’ चितवन मिल्कले झोल दूधलाई प्रशोधन गरेर धुलो दूध बनाउने गरेको छ ।
पोखराको सुजल डेरीले आफै दूध संकलन गरेर ल्याउने गरेको छ । सर्लाहीलगायत विभिन्न ठाउँमा आफ्नै चिलिङ सेन्टर खोलेको उक्त डेरीले भारतीय व्यपारीबाट दूध खरिद गरी आफ्नो कारखानासम्म ल्याउने गरेको छ ।
तर सुजल डेरीका अधिकारी दशरथ सिलवालले भारतीय दूध आफूले खरिद नगरेको दाबी गरे । उनले भने, ‘सर्लाही लगायत विभिन्न जिल्लाका सीमावर्ती क्षेत्रमा ठेकेदार तथा बिचौलियाहरुले दूध ल्याएर बेच्छन्, अन्य डेरीले उनीहरुबाट खरिद गर्छन् तर हामी भारतीय दूध खरिद गर्दैनौं, हामीलाई नेपाली किसानको दूधले नै पुगिरहेको छ ।’
सीमावर्ती क्षेत्रमा दूधको व्यापक चलेखल हुने गरेको जानकारी दिँदै उनले यसमा सुरक्षाकर्मी र मिडियाले निगरानी बढाउनुपर्ने बताए । केही नाम चलेका डेरीले भारतीय व्यापारीको दूध खरिद गरेर काठमाडौंलगायत विभिन्न क्षेत्रमा पुर्याउने गरेको उनको भनाइ छ ।
भारतबाट लुकीछिपी आउने दूध प्रतिलिटर ४० रुपैयाँदेखि ४५ रुपैयाँ ९भारु० मा खरिद गरिएको हुन्छ । नेपाली किसानबाट सहकारीले ७०–८० रुपैयाँ ९नेरु० प्रतिलिटरमा दूध खरिद गरेका हुन्छन् । नेपाली किसानबाट खरिद गरिएको दूधभन्दा भारतीय दूधमा एसएनएफ र फ्याट ९गुणस्तर० को मात्रा बढी हुने बताइन्छ । दूधमा जति बढी एसएनएफ हुन्छ, डेरी उद्योगीलाई त्यति बढी फाइदा हुन्छ ।
नेपालका डेरी उद्योगीले पाँच प्रतिशत एसएनएफ भएको दूध खरिद गरेर नेपाली उपभोक्तालाई तीन प्रतिशत एसएनएफको दूध बेच्छन् । त्यही भएर डेरी उद्योगीले नेपाली किसानको दूध खरिद नगरी भारतबाट दूध खरिद गर्न जोड दिएका छन् ।
डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई दबाब दिइरहेका छन् । दूध खुला गर्ने कि नगर्ने भन्ने विषयमा कृषि मन्त्रालय विचार विमर्शमा रहेको बेला डेरी उद्योगीहरु धमाधम भारतबाट लुकीछिपी दूध खरिद गरी ल्याउने गरेका छन् ।
पर्सामा दूध संकलन गरिरहेकी सरस्वती भट्टराईले नेपालमा दूधको अभाव नभए पनि केही डेरी उद्योगीले अभाव देखाउँदै भारतबाट लुकीछिपी दूध ल्याउने गरेको बताइन् । उनले भनिन्, ‘डेरीवालाहरुले हामीसँग बार्गेनिङ गरेर दूध खरिद गर्छन् तर भारतीय व्यापारीसँग जस्तो दूध दियो, त्यस्तै लिन्छन् ।’
भारतमा किसानलाई सरकारले विभिन्न अनुदान दिएको कारण नेपालको तुलनामा त्यहाँको दूध सस्तो छ । त्यसैले पनि नेपाली व्यवसायीहरु भारतीय दूध खरिद गर्न रुचाउने उनको भनाइ छ ।
भारतबाट सस्तोमा खरिद गरी नेपालमा महँगो दरमा दूध बेच्न पाउने भएपछि नेपाली व्यवसायीहरु भारतीय दूधप्रति आकर्षित भएको भट्टराई बताउँछिन् ।
डेरी उद्योगीहरुले भारतबाट खरिद गरेको झोल दूधबाट एसएनएफ झिकेर धुलो दूध बनाउँछन् । र, त्यो धुलो दूध महँगोमा बेच्ने गरेको पाइन्छ । सरकारले दूधको मूल्य निर्धारण गरे पनि धुलो दूधको मूल्य निर्धारण गरेको छैन । त्यही कारणले डेरी उद्योगीले मनपरी दाम राखी धुलो दूध बेच्ने गरेको गुनासो सुनिन्छ ।
डेरी उद्योगीहरुले धुलो दूध लुकाएर राख्छन् र बजारमा कृत्रिम अभाव देखाएर महँगोमा बेच्ने गरेका छन् । डेरी उद्योगीहरुले धुलो दूधको अभाव देखाउँदै भारतबाट आयात खुला गर्न कृषि मन्त्रालयलाई दबाब दिइरहेका छन् ।
अहिले चितवन मिल्कमा उत्पादित धुलो दूध गोदाममै थन्किएर बसेको छ । चितवन मिल्कले एक करोड लिटर दूधको धुलो दूध बनाएर गोदाममा राखेको छ । यता, धुलो दूधको अभाव देखाएर भारतबाट दूध आयात खुला गर्न व्यवसायीहरुले दबाब बढाइरहेका छन् ।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan