
माघ २६ हेटौंडा : वि.सं २०३३ साल असोज १३ गते देशकै ठूलो हेटौंडा सिमेन्ट उद्योगको स्थापना भएको हो ।१ अर्ब ३३ करोड लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट यतिखेर जिर्न अवस्थामा पुगेको छ । हेटौंडा ९, स्थित हेटौंडा सिमेन्ट उद्योग विगत ५ महिनादेखि क्लिंकर उत्पादन बन्द रहेको छ । उद्योगको ४ वटा चुनढुंगा खानी भएकोमा ओखरे खानी मात्र सन्चालनमा रहेको तर उक्त खानीबाट समेत विगत ९ महिनादेखि हालसम्म चुनढुंगा आपूर्ति हुन नसकेको र उद्योगमा हाल मौज्दात रहेको लगभग २० हजार मेट्रीक टन चुनढुंगा समेत ठेक्का सम्झौतामा तोकिए बमोजिम ४३ ग्रेड हुनुपर्नेमा स्क्रिनीङ गरेर क्रसिङ गर्दा समेत ४३ ग्रेड नपुगेको चुनढुंगा गुणस्तर बमोजिम नहुँदा नहुँदै पनि व्यवस्थापकले सुनियोजित ढङ्गले भुक्तानी गरी उक्त ठेक्का को फाइल बन्द गरिसकेको छ ।
हाल उद्योगमा कच्चा पदार्थको मौज्दात १ महिनाको लागि पनि नभएको, विगत वर्षौं देखि भैसे खानीमा रहेको स्टोर र उद्योग हाताभित्र रहेको स्टोर अडिट (Store Audit) नभएको, उद्योगको संरचना (रोपवे) कुनै पनि नापतौल नगरीकन बिक्री गरी कच्चा पदार्थको मात्र भुक्तानी गर्ने भनी निर्णय भएको र बजार मूल्य भन्दा अत्याधिक महंगो मूल्यमा कोइला लगायतका अन्य सामग्रीहरु खरिद गरिरहेको पाइएको छ ।
विगत ६ वर्षदेखि कर्मचारी भर्ना प्रकृया नभएको तथा लामो समयदेखि कर्मचारीको तलब, संचयकोष, नागरिक लगानी कोष, उपादान, बीमा, अतिरिक्त कार्य गरे वापतको रकम लगायतका भुक्तानी समेत नभएको पाइएको छ ।
उद्योग यस्तो जटील अवस्थामा कसरी आइपुग्यो ?
दीर्घकालीन रुपमा उद्योग सन्चालन गर्न व्यवस्थापकले कुनै पनि कार्ययोजना नबनाई सन्चालन गर्ने गरेको हुनाले उद्योग नियमित रुपमा सन्चालन हुन नसकेको हो ।
बजार मूल्य भन्दा अत्याधिकं महंगो रेटमा कोइला लगायतका अन्य कच्चा पदार्थ तथा गुणस्तरहिन जगेडा पूर्जा खरिद गरी सिमेण्टको प्रति बोरा लागत बढाई उद्योगलाई अरबौंको घाटामा लगिएको त्यहा किर्यासील अखिल नेपाल औद्योगिक मजदुर संघ इकाई समिति र नेपाल कारखाना श्रमिक संघ इकाई समिति दुबै सगठनले बताएका छन् ।
उद्योगको विक्री निर्देशिका विपरित करोडौंको सिमेण्ट उधारोमा विक्री गरी उद्योगमा आर्थिक संकट निम्त्याएको र लामो समयदेखि Store Audit नहुँदा चाहिने सामानको अभाव हुने तर नचाहिने सामान करोडौंको मूल्य बराबरको थन्किएर रहेको हुनाले उद्योगमा आर्थिक संकट भएको समेत दुबै सगठनले बताए ।
उद्योग कसरी सन्चालन गर्न सकिन्छ ?
उद्योग व्यवस्थापकले प्रचलित बजार मूल्य बमोजिमको कोइला लगायतका अन्य कच्चा पदार्थ साथै जगेडा पूर्जा खरीद गरी सिमेण्टको प्रतिबोरा लागत घटाउनुपर्ने र त्यसैगरी उद्योग नियमित रुपमा सन्चालन गर्न दीर्घकालीन कार्ययोजना बनाउनुपर्ने दुबै ट्रेड युनियनले बताए छन् ।
लामो समयदेखि अवरुद्ध रहेको कर्मचारी भर्ना प्रकृया यथाशीघ्र खुलाई व्यवस्थापकीय क्षमताको अभिवृद्धि गर्नुपर्ने समेत देखिन्छ ।
उधारोमा विक्री गरेको सिमेन्टको करोडौं रकम तत्काल उठाई प्रचलित बजार मूल्य अनुसारको कच्चा पदार्थ तथा अन्य गुणस्तरीय जगेडा पूर्जाको जोहो गर्नुपर्ने साथै आगामी दिनमा विक्री निर्देशिका वमोजिम मात्र हुने गरी सिमेण्ट विक्री गर्नुपर्ने र उद्योग नियमित रुपले सन्चालन गरी कर्मचारीलाई भुक्तान गर्न बाँकी सम्पूर्ण आर्थिक दायित्वको यथाशीघ्र सम्बोधन गर्नुपर्ने समेत दुबै सगठनले बताउनु भयो ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan