
मकवानपुर १४, मंसिर । हेटौंडा उपमहानगरपालिका–१२ को स्थानीय तह उपनिर्वाचनको मतगणना हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा गरिने भएको छ ।
मकवानपुर जिल्ला अदालतका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईको संयोजकत्वमा १३ मंसिर बिहीवार बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले सिद्धार्थ माविमा मतगणना गर्ने निर्णय गरेको हो ।
मंसिर १६ गते मतदान सकिएपछि मतगणनाका लागि मतपेटिका हेटौंडा–२, स्थित सिद्धार्थ माविमा ल्याइने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए ।
१२ नम्बर वडा कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भौतिक अवस्था, उपलब्ध पूर्वाधार, सुरक्षा र सुविधालाई मध्यनजर गर्दै मतगणना बजार क्षेत्रमा गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चिलुवालले जानकारी दिए । राजनीतिक दलहरुले बजार क्षेत्रमै मतपेटिका ल्याएर मतगणना गरिनुपर्ने सुझाव दिएका थिए ।
३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तह र ४ मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना पनि सिद्धार्थ माविमा गरिएको थियो । सुरक्षा र भौतिक पूर्वधारको उपलब्धताका दृष्टिकोणले उक्त विद्यालयलाई छनोट गरिएको हो ।
१२ नम्बर वडामा वडा अध्यक्ष पदको निर्वाचन हुदैंछ । वडा अध्यक्ष पदका लागि ९ वटा राजनीतिक दलका ९ जना र स्वतन्त्र तीन जना चुनावी प्रतिस्पर्धामा छन् ।
हेटौंडा १२ मा प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा पाँचवटा बुथ र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा चारवटा बुथ रहने गरी दुई स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan