नेपालले पहिलोपटक आइसिसी यू-१९ विश्वकपमा

मकवानपुर २९ कात्तिक । निर्णायक खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपाल आइसिसी यू–१९ महिला विश्वकपका लागि छनोट भएको छ । पहिलो संस्करणको विश्वकप खेलिसकेको घरेलु टिम युएईलाई हराउँदै नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । अब नेपालले आइसिसी यू–१९ महिला टी–२० विश्वकप २०२५ खेल्नेछ । यू–१९ टी–२० विश्वकप आगामी वर्षको १८ जनवरीदेखि २ फेब्रुवरीसम्म मलेसियामा हुँदै छ ।

बुधबारको खेलमा नेपालले युएईलाई आठ विकेटले हरायो । एसिया छनोटमा नेपाल नेट रनरेटमा युएईलाई पछि पार्न सफल भएको हो । ६ खेलबाट दुवै टोलीको समान १० अंक रह्यो । नेपालको नेट रनरेट ३.९३ रहँदा युएईको ३.७७ रह्यो । यदि नेपाल खेलमा १६.२ ओभरमा विजयी नभएको भए युएईले लगातार विश्वकपमा स्थान बनाउने थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८४ रनको सामान्य लक्ष्य दिएको थियो । प्रत्युत्तरमा नेपालले १४.४ ओभरमा दुई विकेट गुमाउँदै जित पक्का गर्‍यो । सन् २०२७ को विश्वकप भने नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्दै छन् ।

नेपालका लागि ओपनर साना प्रभिनले सर्वाधिक ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरेकी थिइन् । त्यस्तै, कप्तान पूजा महतोले १८ बलमा चार चौकासहित २१ रन बनाउँदा सोनी पाख्रिन १३ रनमा अविजित रहिन् । ओपनर सावित्री धामीले १२ रन जोडिन् । नेपालले अतिरिक्त पाँच रन पाएको थियो ।

युएईकी मेहाक थाकुरले दुई विकेट लिइन् । यसअघि युएईका लागि कप्तान समाइरा धर्निधर्काले ४८ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाइन् । रिनिथा रन्जिथले २०, ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाएका थिए ।

निर्णायक खेलमा नेपालका लागि कृष्मा गुरुङले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभरमा १७ रन दिएकी हुन् । रिया शर्मा र सीमा केसीले समान दुई विकेट लिएका थिए । रचनाकुमारी चौधरीको नाममा एक विकेट रह्यो ।

एकै समूहमा अस्ट्रेलिया र नेपाल
विश्वकपमा नेपालले समूह ‘डी’मा स्थान बनाएको छ । समूहमा बलियो अस्ट्रेलियासँगै बंगलादेश र स्कटल्यान्ड छन् । पहिलो संस्करण सेमिफाइनलमा पुगेको अस्ट्रेलिया र नेपालबिचको खेल २२ जनवरीमा छ । त्यसअघि नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्ने तालिका छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.