
मकवानपुर, २८ कात्तिक । मकवानपुरे साहित्यकार अनिता न्यौपानेको कथा छैटौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१’ का लागि छनोट भएको छ ।
प्रतियोगिताका लागि यसवर्ष विश्वभरिबाट ९ सय ३७ कथा प्राप्त भएका थिए । प्राप्त कथाहरूमध्येबाट पहिलो चरणमा छनोट भएका ५२ कथाहरूमा साहित्यकार न्यौपानेको कथा पनि छनोटमा परेको हो ।
२०८१ असारमा भएको राष्ट्रिय कविता प्रतियोगितामा पनि साहित्यकार न्यौपाने सर्वोत्कृष्ट भएकी थिइन् । साहित्य संगम मकवानपुर र आँचल साहित्य कला पुञ्ज मकवानपुरकी निवर्तमान अध्यक्ष रहेकी न्यौपानेको ‘फूलको विद्रोह’ कविता सग्रह प्रकाशित भईसकेको छ भने निवन्ध र कविता सग्रह प्रकाशनको तयारीमा रहेको छ ।
बाह्रखरीको आन्तरिक छनोट समितिले यस वर्ष प्राप्त कथाहरूमध्येबाट ५२ वटा कथाको चयन गरेको हो । यसरी पहिलो चरणको छनोटमा परेका ५२ वटा कथाहरूमध्येबाट प्रा.डा. ज्ञानू पाण्डेको संयोजकत्वमा साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सम्मिलित मूल निर्णायक समूहले उत्कृष्ट २५ कथा छनोट गर्ने जनाइएको छ ।
आन्तरिक निर्णायक समूहका अनुसार सामान्यतः प्रथम चरणमा ५० कथा छानिने भए पनि यस वर्ष पनि प्राथमिक छनोटमा समान अंक पाएका थप दुई कथा अन्तिम चरणको छनोटका लागि समावेश गरिएको हो ।
बाह्रखरी कथा लेखन प्रतियोगितका लागि छनोटमा परेका ५२ कथाकारहरूमा अनिता न्यौपानेसँगै भूमिका थारु, विष्णु पादुका, ध्रुव अधिकारी, दीक्षित के.सी., दुर्गा ढेंगा, महेन्द्र महक, नारद थपलिया, राजु मियाँ, सुदीप चापागाईं, तुल्सी गिरी, अनिता कोइराला, अनुपम रोशी, अप्सना चौलागाईं, अरुणप्रसाद चौधरीका कथा रहेका छन् ।
त्यस्तै वसन्त बायुङ राई, विवेक धिमाल, विमला तिवारी, विशालबाबु बस्नेत, देवेन्द्र खापुङ, डा. हिमलाल श्रेष्ठ, हर्कबहादुर लामगादे, इलैया पाठक, जीतबहादुर कटुवाल, कर्मसही घर्ती मगर, केदारनाथ झा, ललिता दोषी, मिरमा, पवन ओली, प्रवीण याम्फू, राधिका कल्पित, समर्पण श्री, पूर्णबहादुर लिम्बु, सञ्जय पन्थी, सपना अधिकारी, शारदा स्टेफी, सीमा हैदर, सूचना तिमिल्सिना, तोयम, चेतनाथ आचार्य, अनिता पन्थी, बैकुण्ठ ढकाल, दिव्य गिरी, कान्ति न्यौपाने, मधुर भट्टराई, मातृका सुवेदी, प्रमेय भण्डारी, यशोदा अधिकारी, भागवत खनाल, टीकाराम पोखरेल, संजय साह मित्र र रमेशजंग थापाका कथा परेका छन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरू झैँ क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक पनि प्रकाशित हुने बाह्रखरीले घोषणा गरिसकेको छ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
यस वर्ष कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर महिनाको दोस्रो साता विशेष समारोहकाबिच काठमाडौंमा सार्वजनिक गरिनेछ । सोही दिन ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१’ पनि लोकार्पण गरिनेछ ।
बाईलाईन नेपाल डटकमबाट




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan