काठमाडौँमा आज वर्षकै कम तापक्रम, वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको सम्भावना


मकवानपुर, २८ कात्तिक । काठमाडौँ उपत्यकामा आज (कात्तिक २८ गते) यो वर्षको अहिलेसम्मकै कम तापक्रम मापन गरिएकोे छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री सेल्सियसमा पाइएको हो । यो काठमाडौँ उपत्यकामा २०८१ वैशाखयता अहिलेसम्मकै कम तापक्रम हो ।
मौसम महाशाखाको विवरण अनुसार वैशाख १ (अप्रिल ४) मा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस थियो । त्यसयता हिजो (कात्तिक २७ गते) सम्म उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम १२.२ डिग्री सेल्सियस थियो। आजको तापक्रम त्यसभन्दा पनि कम १०.६ डिग्री सेल्सियसमा झरेको हो।


हिउँदयाम नजिकिँदै गर्दा काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढ्दै गएको छ । मौसमविद्का अनुसार अहिले नेपालमा पोस्ट मनसुन सिजन चलिरहेको छ। यो सिजन नोभेम्बर महिनाभर रहन्छ । डिसेम्बरदेखि अर्थात् हिउँदयाम लाग्छ।


आज वर्षासँगै हिमाली भूभागमा हिमपातको सम्भावना
यसैगरी आज नेपालको केही क्षेत्रमा वर्षासँगै हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.