
रुकुम पश्चिम । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) रुकुम पश्चिमले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनार्दन शर्माको नाम एकल रूपमा सिफारिस गरेको छ।
जिल्ला पार्टीको आज बसेको विस्तारित बैठकले शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। उक्त निर्णयबारे पार्टीका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम इन्चार्ज गोर्खबहादुर केसी ‘सन्देश’ले आहा सञ्चारलाई जानकारी दिनुभएको छ।
केसीका अनुसार पार्टीभित्र लामो छलफल, राजनीतिक मूल्याङ्कन तथा जिल्लाको समग्र अवस्थालाई ध्यानमा राख्दै शर्माको नाममा सर्वसम्मत निर्णय गरिएको हो। “पार्टी संगठन सुदृढीकरण, जनआधार विस्तार र परिवर्तनकारी राजनीतिक एजेन्डालाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्न सक्ने व्यक्तित्वका रूपमा जनार्दन शर्मा उपयुक्त ठहरिएका छन्,” उहाँले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्माको एकल नाम सिफारिस भएसँगै रुकुम पश्चिमको राजनीतिक माहोल थप तरंगित बनेको छ। विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षहरूबीच आगामी निर्वाचनलाई लिएर चर्चा र विश्लेषण तीव्र भएको देखिन्छ।
पार्टी स्रोतका अनुसार अब जिल्लाबाट सिफारिस गरिएको नाम केन्द्रमा पठाइनेछ र केन्द्रीय समितिको अन्तिम निर्णयपछि उम्मेदवारी औपचारिक रूपमा टुंगो लाग्नेछ।
प्रलोपा रुकुम पश्चिमले आगामी निर्वाचनलाई परिवर्तन, सुशासन र जनमुखी राजनीतितर्फ अग्रसर गराउने अवसरका रूपमा लिएको जनाएको छ




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan