अखिल (क्रान्तिकारी) का केन्द्रिय महासचिव रोशन थापा (मगर)ले छोडे प्रचण्डको साथ, प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने

काठमाडौं – नेपाली कम्युनिस्ट आन्दोलनका क्रियाशील विद्यार्थी नेता, अखिल (क्रान्तिकारी) केन्द्रीय महासचिव रोशन थापाले विगत १४ वर्षदेखि काम गर्दै आएका आफ्नो संगठन र पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड नेतृत्वको पार्टीमा आबद्ध नहुने स्पष्ट घोषणा गरेका छन्।

भाद्र २३–२४ पछि मुलुकको राजनीतिक परिवेशमा आम नेपाली जनताले चाहेको रूपान्तरण पूरा हुन नसक्ने निष्कर्षमा पुगेपछि थापाले यस्तो निर्णयमा पुगेको बताइएको छ। यसै सन्दर्भमा उनले बताएका छन्, “आफ्नो जीवनको उर्जाशील समय १६–३० वर्ष उमेरको दौरान अंगालेको संगठन छोड्नु सजिलो निर्णय त रहेन, तर राजनीतिमा यस्ता निर्णय सामान्य हुन् भन्ने बुझाइ बन्यो।”

रोशन थापाले आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै कक्षा समिति सदस्यदेखि ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै गत माघमा केन्द्रीय महासचिव निर्वाचित भएका क्षणहरूलाई महत्वपूर्ण रहेको बताए। उनी यस यात्रामा प्राप्त अनुभव र सामाजिक–राजनीतिक पुँजीका लागि संगठनका अग्रज, मार्गदर्शक र सहकर्मीप्रति हार्दिक आभार व्यक्त गरे।

साथै, पार्टीभित्र देखिएका अवरोधका बाबजुद थापाले आदरणीय दिदीहरू पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद व्यक्त गर्दै मार्गदर्शन र अभिभावकत्वको मूल्य उच्च रहेको बताए।

थापाले आगामी राजनैतिक यात्रा ‘प्रगतिशील राष्ट्रिय अभियान’ मार्फत अघि बढाउने जानकारी दिँदै आम नेपाली जनताका मागअनुसार नयाँ राजनीतिक दृष्टिकोण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले अन्तिममा भने, “यस यात्रामा मैले जे जति राजनैतिक चेतना र सामाजिक पुँजी निर्माण गरेँ, त्यसका लागि संगठनका सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। लाल सलाम।”

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.