हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम,नेपाली विद्यार्थी विपिन जोशी अझै अज्ञात

तेलअविव । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले पहिलो चरणमा मुक्त गराउने २० जना युद्धबन्दीको नाम सार्वजनिक गरेको छ। तर, उक्त सूचीमा हमासको कब्जामा परेका नेपाली विद्यार्थी विपिन जोशीको नाम भने समावेश गरिएको छैन।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र मुक्त गरिने भनिएका २० जना सबै इजरायली नागरिक हुन्। “हामीले हमासले सार्वजनिक गरेको सूची अध्ययन गरेका छौँ, तर सो सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम छैन,” राजदूत पण्डितले जानकारी दिए।

उनका अनुसार हमासले जीवित अवस्थामा रहेका २० जना इजरायलीहरूलाई पहिलो चरणमा मुक्त गर्ने तयारी गरेको छ। आगामी चरणमा थप बन्दीहरू मुक्त गरिने सम्भावना भए पनि, त्यसबारे ठ्याक्कै मिति र नामावली सार्वजनिक गरिएको छैन।

अमेरिकाको सक्रिय पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध अन्त्य गर्ने सहमति विहीबार भएको थियो। उक्त सम्झौता अनुसार, पहिलो चरणमा ५० जना (जीवित र मृतक गरी) बन्दीहरू छाड्ने सहमति गरिएको छ।

सन् २०२३ को अक्टोबर महिनामा इजरायलको किवुत्ज शहरमा अध्ययनरत विपिन जोशी हमासको आक्रमणपछिको भिडन्तमा बेपत्ता भएका थिए। त्यसयता उनको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त भएको छैन।

नेपाल सरकारले इजरायलस्थित दूतावासमार्फत निरन्तर विपिनको अवस्थाबारे खोजी गरिरहेको जनाएको छ। तर हालसम्म उनको जीवित वा मृत अवस्थाको पुष्टि हुन सकेको छैन।

विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार, दूतावासले इजरायली सुरक्षा निकायसँग पनि नियमित सम्पर्कमा रही विपिनको अवस्थाबारे अद्यावधिक जानकारी लिने प्रयास गरिरहेको छ।

यसबीच, विपिनका परिवारजनले सरकारसँग खोजी र उद्धारमा थप सक्रियता देखाउन माग गरेका छन्।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.