
मकवानपुर २२ माघ । नेपाल सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ ।
अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाईनेछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्रको रूपमा तोकिएको छ ।
यसका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको छ । सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ ।
यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारको लक्ष्य रहेको छ ।
३० वर्ष उमेरका महिलालाई पाँच–पाँच वर्षमा पाठेघर मुख क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ । ती महिलामा क्यान्सर छ भने कम्तीमा ९० प्रतिशतको सफल उपचार हुन्छ ।
एचपीभी खोप खोप कहाँ कहाँ लगाईन्छ ?
विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने डा. गौतम बताउँछन् ।
के हो एचपीभी खोप ?
एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसत दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेको डा. अभियान गौतम बताउँछन् ।
एचपीभी भनेको के हो ?
एचपीभी भनेको भाइरस हो । यसमा दुई सयभन्दा बढी प्रजातिका भाइरस छन् । तीमध्ये पनि १६ देखि १८ प्रजातिका भाइरसले क्यान्सर गराउँछन् । त्यसमध्ये पाठेघर मुखको क्यान्सर गराउने भाइरस चार थरी रहेको बिशेषज्ञहरु बताउँछन् । नेपालमा पनि सोही विरुद्ध खोप अभियान सुरु गरिएको उनको भनाई छ ।
ह्युमन प्यापिलोमा भाइरसका कारणको कारणले हुने पाठेघरको मुखको क्यान्सर हुन्छ । भाइरस संक्रमण हुनु अगावै खोप लगाउने आवश्यक छ । यी भाइरसहरू प्रमुख गरी शारीरिक सम्बन्धबाट सर्ने भएकाले शारीरिक सम्बन्ध राख्नु पहिला नै खोप लगाएमा प्रभावकारी हुन्छ ।
पाठेघर मुखको क्यान्सर गराउने भाइरस पुरुषले पनि ‘क्यारी’ गर्ने तर महिलामा संक्रमित हुने भएकाले महिलालाई खोप लगाउने गरिन्छ । तर विकसित मुलुकमा यो खोप पुरुषलाई पनि लगाइन्छ । पाठेघरको मुखको क्यान्सर ३० वर्षपछि देखिने गर्छ । त्यसकारण अहिले लगाइएको एचपीभी खोपको असर ३० वा ३५ वर्ष पछि देखिने बिशेषज्ञहरुको भनाई छ । ३५ देखि ५५ वर्ष उमेर समूहमा पाठेघरको मुखको क्यान्सर देखिन्छ तर त्यही भएर अहिले लगाउँदा ३० वर्ष पछि यसको प्रभावकारिता देखिन्छ ।
खोप लगाएमा देखिने ‘साइड इफेक्ट’
खोप लगाउँदा सामान्य असर देखिन सक्छ । तर यसको गम्भीर ‘साइड इफेक्ट’ नरहेको चिकित्सकहरु बताउँछन् । खोप लगाएको ठाउँमा सामान्य दुख्ने हुन्छ । दुखाइका कारणले कहिलेकाहीँ ज्वरो पनि आउन सक्छ । यस्ता लक्षण सामान्य रहेकोले नडराउन र खोप अनिवार्य लगाउन चिकित्सकहरु बताउँछन् । हालै चितवनमा १२ देखि १३ हजार बालिकालाई खोप लगाउँदा दुई–चार जनालाई दुख्ने र ज्वरो आउने देखिएको थियो । यो सामान्य हो ।
खोप कति उपलब्ध छ ?
देशभरका १६ लाख ८८ हजार किशोरीलाई खोप लगाउन १७ लाख ७० हजार २० डोज खोप छ । यो सबैलाई पुग्ने सरकारी दाबी छ । यो खोप एक मात्रमा लगाउने भएकाले संख्या अनुसार नै खोप स्थानीय तहमा पु¥याइएको डा. अभियान गौतमको भनाई छ ।
एचपीभी खोप एक डोज लगाउनुपर्छ । एक मात्रा लगाए जीवनभर पुग्छ । एक मात्रा लगाउने भनेर अभियान चलाईएको यो खोप देशभरका लक्षित बालिकाहहरुलाई खोप पुग्छ ।
पाठेघर मुखको क्यान्सरको अवस्था
देशभर पाठेघर मुखको क्यान्सर भएका संख्या करिब २२ सय छ । वार्षिक २ हजार १४९ जना महिला पाठेघर मुखको क्यान्सरबाट पीडित रहेको सरकारी तथ्याड्ढ छ । तीमध्ये करिब १ हजार ३ सय जनाको बर्सेनि मृत्यु हुन्छ । सुरुमा परीक्षण गरेर पहिचान हुन सके बचाउन सकिन्छ । ढिलो पहिचान भए बचाउन सकिने अवस्था रहँदैन वा मुस्किल हुने अध्ययनले देखाएको छ ।
पाठेघर मुखको क्यान्सरमा एचपीभी खोपले कसरी काम गर्छ ?
यो खोप भाइरस संक्रमणविरुद्ध हो । पाठेघर मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ह्युमन प्यापिलोमा भाइरसलाई मानिन्छ । यो भाइरसको संक्रमणबाट जोगाउँछ । ह्युमन प्यापिलोमा भाइरसको संक्रमण एक न एकपटक हुन्छ नै । लामो समयसम्म संक्रमण भइरहँदा संक्रमणबाट हुने घाउबाट क्यान्सरमा परिणत हुन्छ ।
यो खोपको काम नै ह्युमन प्यापिलोमा भाइरस संक्रमण रोक्ने हो । यसले गर्दा भोलि हुने क्यान्सर रोक्ने हुन्छ । ६ कक्षादेखि १० कक्षासम्म पढ्ने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप लगाउने भनिएको हो । सरकारले यो वर्ष देशभर अभियानका रूपमा खेप लगाउने कार्यक्रम बनाएको छ । अर्को वर्षदेखि हरेक वर्ष फागुनमा नियमित खोप तालिका अनुसार एचपीभी खोप लगाउने कार्य तालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप निःशुल्क हो ?
डा. अभियान गौतमका अनुसार सरकारले एचपीभी खोप निःशुल्क लगाउनेछ । तर, बाहिर लगाउनुपरे एक डोजको ६ हजार रुपैयाँभन्दा बढी पर्छ । यो अन्य देशले लगाइरहेका छन् । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले मान्यता दिएको छ ।
स्वास्थ्य मन्त्रालयले खोप लगाउन फागुन २२ गतेदेखि माघ ६ गतेसम्म समय निर्धारण गरेको छ । यो अवधि बाहेक खोप लगाउन खोज्दा नपाइन सक्छ । यो खोपले पाठेघर मुखको क्यान्सर मात्रै होइन, अन्य क्यान्सरबाट पनि जोगाउँछ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan