मउवा संघको साधारण सभा सुरु, कार्यसमितिको लागि दुई प्यानलबीच प्रतिश्पर्धा

मकवानपुर, २४ पौष । मकवानपुरका उद्योगी÷व्यवसायीको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं बार्षिक साधारण सभा बुधबार सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साधारण सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
साधारणसभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि उम्मेद्वारहरुको चुनावी प्रचारप्रसारले मकवानपुरको सदरमुकाम एवम् प्रदेश राजधानी हेटौंडामा छुट्टै रौनक थपेकोे छ । चोकचोकमा उम्मेद्वारको फोटो ब्यानरले रंगीन बनेको छ, उम्मेद्वारको प्रचारप्रसारको माइकिङले निर्वाचनको माहोललाई तताउँदै छ ।


जिल्लाका उद्योगी, व्यवसायीको छाता संस्था मकवानपुर उद्योग वाणिज्य (मउवा) संघको ५८ औं साधारणसभा तथा अधिवेशन अन्तर्गत हुने निर्वाचनको रौनकले सबै पक्ष चुनावी राजनीतिमा व्यस्त छन् । संघको यसपालीको निर्वाचनका लागि ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्येक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष मनोनित गर्ने व्यवस्था थियो ।


प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक र गर्विलो बनाएको छ । मउवा संघमा २८ जनाको कार्यसमिति हुनेछ । अध्यक्ष, ४ उपाध्यक्ष (एसोसिएट, वाणिज्य, उद्योग र वस्तुगत), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र एक सहकोषाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।


एसोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगतर्फ ४ सदस्य र वस्तुगततर्फ १ सदस्य पद रहने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए ।


२४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोदसिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । रानाभाट र अग्रवाल दुवैले प्यानल घोषणा गरिसकेका छन् । संघमा वस्तुगत, वाणिज्य, उद्योग र एसोसिएटतर्फका उम्मेदवार रहेका छन् ।

यस्तो छ रानाभाट प्यानल ः
अध्यक्ष उम्मेदवार रानाभाटले आइतबार प्यानल घोषणासँगै प्रतिबद्धता सार्वजनिक गरेका छन् । रानाभाट प्यानलबाट महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाइ), सहकोषाध्यक्षमा निलम वैद्य उम्मेद्वार बनेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं, सचिवमा माधव ज्ञवाली, सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुलीको रहेका छन् । उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सचिवमा रुपकराज दाहाल, सदस्यहरु जगदिश दाहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल तथा वस्तुगततर्फ उपाध्यक्षमा प्रदीप अर्याल, सचिवमा राजाराम कार्की र सदस्य कृष्ण अर्याल छन् । वाणिज्यतर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई, सदस्यहरु राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), महिला आरक्षणमा निलम बजगाई देवकोटा छन् ।

यस्तो छ अग्रवाल प्यानल ः
अध्यक्ष पदका अर्का उम्मेद्वार अग्रवालले सोमबार साँझ प्यानल घोषणा गरेका छन् । अग्रवालले टिम घोषणा कार्यक्रममा चर्चित गायक बद्री पंगेनीलाई आमन्त्रण गरी सांगितिक प्रस्तुति समेत दिएका थिए । अग्रवालको प्यानलबाट महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सहकोषाध्यक्षमा राधिका सामरी पाण्डे उम्मेद्वार रहेका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनालको मात्रै उम्मेद्वारी रहेको छ । वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली र सदस्यमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञबहादुर राई र महिला आरक्षणमा निलम पाण्डे रहेका छन् । उद्योगतर्फ उपाध्यक्षमा रविन्द्रप्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ उम्मेद्वार तय भएको छ । वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणी अधिकारी, सचिवमा नेत्रप्रसाद खतिवडा र सदस्यमा शम्भु पुडासैनी छन् ।

निर्वाचन कार्यक्रम
पौष २४ गते साधारणसभाको उद्घाटन हुनेछ । उद्घाटन पश्चात बन्द सत्र सुरु हुनेछ । पौष २५ बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने संघका कार्यकारी सचिव कार्कीले जानकारी दिए । यही दिन साढे १० बजेबाट १२ बजेभित्र उम्मेदवारी दर्ताका लागि समय रहेको सचिव कार्कीले बताए । उम्मेदवारहरु १२ बजेभित्र मनोनयन दर्तास्थल पल्पसा सभाहलमा प्रवेश गरिसक्नुपर्ने सचिव कार्कीले जनाए । उम्मेद्वारको नामावली प्रकाशनलगत्तै दाबीविरोधको समय हुनेछ । पौष २७ गते मतदान कार्य हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने सचिव कार्कीले जानकारी दिए ।मतगणनास्थल छनोट भइसकेको छैन ।

सदस्यता नविकरण नगर्ने बढे
संघको यसवर्ष हुने निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउनेछन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए । अघिल्लो अधिवेशनको तुलनामा यस वर्ष ८ सय ६१ जना सदस्य घटेका छन् । मउवा संघको सदस्यता नवीकरण नगर्ने हालसम्मकै यो ठूलो संख्या रहेको सचिव कार्कीले बताए । विधान संशोधनपछि सदस्यता नवीकरणमा फर्मको करचुक्ता प्रमाणपत्र अनिवार्य गरेपछि ठूलो संख्या घटेको हुन सक्ने उनले बताए । तर, युवा ब्यवसायी विदेशिने क्रम बढेकाले नवीकरण गर्न छोड्नेहरु पनि बढेको उनले भने ।
(साझाकुरा डटकमको सहयोगमा)

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.