
मकवानपुर, २३ पौष । बागमती प्रदेश सरकार र फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टरको संयुक्त आयोजनामा काठमाडौंमा भएको “प्रदेशका सवालहरु” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार काठमाण्डौमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि थापाले केन्द्रमा अधिकार राखेर केही नहुने भएकाले प्रदेश बनाएको र प्रदेशले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने काम प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

महामन्त्री थापाले “संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु” बिषयक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । उनले अब परिणाममुखी हुनुपर्छ यसका लागि संबिधानमा लेखिएको कुरा लागू गर्नुपर्ने बताए ।
“प्रदेशका सवालहरु” बिषयमा संस्थाका तर्फबाट डा. दीपेन्द्र रोकाया र कार्यक्रम निर्देशक प्रह्लाद लामिछानेले प्रस्तुत गर्नुभएको कार्यपत्रमा प्रमुख दलका नेताहरू, संघीय सांसदहरू र बागमती प्रदेशका मन्त्री, सांसद तथा कर्मचारीले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टर संस्थाले संकलन गरेका “प्रदेशका सवालहरु” प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको र यो कुरा पार्टी नेतृत्वमा पु¥याउने र विमर्श गराउने प्रतिवद्धता जाहेर गरे ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो अनुभवमा नेपालका राजनीतिक दलका मुख्य नेताहरूको दिमाग संघीयताको पक्षमा नभएको बताए । संघीय सरकार र शीर्ष नेताहरूको अरुचिका कारण प्रदेशका कार्यसम्पादनमा जटिलता आएको बताउँदै मुलुक र जनताको पक्षमा चिन्ता गर्दै अघि बढे संघीयता सफल हुने बताए ।
यसैगरी एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष भानुभक्त जोसीले संघका मन्त्रालय र जनप्रतिनिधिले तल अधिकार दिन चाहँदैनन् भन्ने कुरा सही भएको बताउँदै केही कुरामा आफू पनि आलोचित भएको बताए । उनले संघका कर्मचारी कर्णाली र मधेस प्रदेशमा जान नचाहेको र स्थानीय सरकारले निमित्तबाट काम चलाउँदा राम्रो मान्ने प्रवृत्ति गलत भएको बताए ।
यसैगरी फेडरलिजम् एण्ड लोकलाईजेशन सेन्टर अध्यक्ष डा. खिमलाल देवकोटाले सहजिकरण गर्नुभएको कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, प्रदेश सभा सदस्यहरु दीपा शर्मा, रामकृष्ण ताम्राकार, रामेश्वर श्रेष्ठ, सुशीला थिङ, छुमी लामा, कृष्णप्रसाद मैनाली, रन्जित चित्रकार, उद्धव थापा, जेएन थपलिया, बागमती प्रदेशका प्रमुख सचिव डा. हरि लम्साल, नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना लगायतले मन्तब्य राखेका थिए ।
फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरका कार्यकारी निर्देशक प्रकाश पन्थले सञ्चालन गरेको छलफल कार्यक्रममा संस्थाकी सदस्य तथा पुर्व सांसद दिलकुमारी थापा रावल (पार्वती)ले स्वागत गरेकी थिईन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan