
मकवानपुर, २४ मंसिर । आगामी मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम अन्तरगत बागमती प्रदेश समिति अध्यक्ष पदमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दिने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार सारु मगरले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्न आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको दोस्रो कार्यकाल महासचिव पदमा रहेका सारुले १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै आगामी कार्यकालका लागि प्रदेश अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । सार्वजनिक गरिएको प्रतिबद्धताका बुँदामा पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने, पत्रकारहरुको स्वास्थ्य बीमा, स्वास्थ्य परीक्षण, पत्रकारिता अध्ययनमा छात्रबृत्ति, स्वरोजगारमुलक मिडियाको प्रवद्र्धन लगायत समावेश छ ।
त्यस्तै, महासंघ बागती प्रदेश समितिको भवन निर्माण, प्रदेशका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन पहल, महिला पत्रकार प्रोत्साहन, अग्रज पत्रकार सम्मान र बिट पत्रकारिताका लागि विशेष तालिमको व्यवस्थापन गर्ने उनको प्रतिवद्धता छ । साथै, उनले श्रमजिवी पत्रकार ऐन कार्यान्वयनमा महासंघ केन्द्र र जिल्ला शाखाहरुसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
हाल अन्नपूर्ण पोष्ट दैनिक र एपीवान टेलिभिजनको बागमती व्युरो प्रमुख रहेका उनले प्रदेश अध्यक्षको उम्मेदवारी सार्वजनिक गर्दा पत्रकारिता पेशालाई मर्यादित र व्यवस्थित बनाउने अठोट लिएको बताए । विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल सारुले १२ वर्षदेखि पत्रकार महासंघको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन् । उनले रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाईन गरि काठमाडौं र मकवानपुरका विभिन्न मिडियामा काम गरिसकेका छन् ।
प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदुनाथ गौतमको अध्यक्षतामा उम्मेद्वारी सार्वजनिकीकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सुनिल खड्का, केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईञ्चार्ज ध्रुवराज ढकाल, केन्द्रीय सदस्य राज सापकोटा, बागमती प्रदेश महासचिव ध्रुव अधिकारी लगायत नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु, विभिन्न पत्रकार संगठनका प्रमुख एवम् प्रतिनिधि पत्रकारहरु सहभागी थिए ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan