
मकवानपुर, १६ मंसिर । स्थानीय तह उपनिर्वाचन अन्तरगत आज हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । निर्वाचन आयोगले तोकेको समय बिहान ७ बजे सुरु भएको मतदान कार्य बेलुकी ५ बजे सकिएको हो ।

चुस्त सुरक्षा ब्यवस्थाका बिच शान्तिपूर्ण रुपमा मतदान सकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा वडा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । स्थानीयको उत्साहजनक सहभागिता भएको मतदानमा ६८.९ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
हेटौँडा १२ मा २ वटा मतदान स्थलमा कायम गरिएको ९ मतदान केन्द्रमा कुल ८ हजार ५६ मतदाता मध्ये ५ हजार ४८४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ४ हजार ४२८ मतदाता रहेको प्रतिभा आधारभूत विद्यालयको ५ मतदान केन्द्रमा ३ हजार १० मत खसेको छ भने विष्णुज्योती आधारभूत विद्यालयमा रहेको ४ मतदान केन्द्रमा २ हजार ४७४ मत खसेको हो ।
निर्वाचनमा २ हजार ९४६ र पुरुष २ हजार ५३७ जना महिला मतदाताले सहभागिता जनाएका छन् । प्रतिभा आधारभूत बिद्यालय मतदान केन्द्रमा १ हजार ६३७ महिला र १ हजार ३७२ पुरुषले मतदान गरेका छन् । विष्णुज्योती आधारभूत बिद्यालय मतदान केन्द्रमा १ हजार ३०९ जना महिला र १ हजार १६५ जना पुरुष मतदाताले मतदान गरेका छन् ।

उक्त वडाको वडाअध्यक्ष पदमा १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचनका लागि माओवादी केन्द्रका रविकुमार प्रधान (रविन), कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेशनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गिताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा रहेका छन् ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपश्चात हेटौँडा–१२ को वडाअध्यक्ष पद रिक्त रहेको थियो । अब मतपेटिका ढुवानी गरी हेटौडा २ स्थित मतगणना स्थल सिद्धार्थ मावि ल्याइने छ । सर्वदलीय बैठक बसेर आजै रातिबाट मतगणना कार्य सुरु गरिने मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई बताईन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan