
काठमाडौं, असार ४,२०८३ / नेपाल कम्युनिष्ट आन्दोलनका पुराना नेता तथा एबम पुर्ब सभामुख कृष्णबहादुर महराले स्वास्थ्य समस्याका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्यका रूपमा रहने निर्णय गरेका छन्।
बिहीबार सार्वजनिक गरेको वक्तव्यमा महराले विगत करिब ४८ वर्षदेखि नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न चरण, संघर्ष र परिवर्तनका यात्रामा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन्। नेकपा चौथो महाधिवेशनदेखि नेकपा माओवादी केन्द्र हुँदै हाल नेपाली कम्युनिष्ट पार्टीसम्म आइपुग्दा आफूले पार्टी,आन्दोलन, देश र जनताको सेवामा जीवनको महत्वपूर्ण समय समर्पण गरेको उनले बताएका छन्।
महराले आफू केही वर्षयता ‘एट्रोफी (Atrophy)’ सम्बन्धी रोगबाट पीडित रहेको जानकारी दिएका छन्। नियमित उपचार, थेरापी तथा औषधि सेवनका बाबजुद स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेकाले पार्टीका गतिविधि र जिम्मेवारीमा विगतझैं सक्रिय रूपमा योगदान गर्न कठिन भएको उनले उल्लेख गरेका छन्।
स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेको स्पष्ट पार्दै महराले यो कदम कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई स्वास्थ्यजन्य बाध्यताको परिणाम भएको बताएका छन्।
उनले पार्टी जीवन, नेतृत्व निर्माण तथा नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा आफू अन्तिम समयसम्म इमानदार र प्रतिबद्ध रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहने उनको भनाइ छ।
वक्तव्यमा महराले नयाँ पुस्ताका ऊर्जाशील युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। साथै लामो राजनीतिक यात्राका क्रममा साथ, सहयोग, सद्भाव र विश्वास प्रदान गर्ने नेता, कार्यकर्ता तथा आम जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।
महराको यो घोषणासँगै नेपाली राजनीतिमा लामो समय सक्रिय भूमिका निर्वाह गरेका एक अनुभवी नेताले स्वास्थ्यका कारण अग्रपङ्क्तिको राजनीतिक जिम्मेवारीबाट विश्राम लिएका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan