
थाहा नगरपालिका —
“सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने मूल नाराका साथ ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा थाहा नगरपालिकामा महिला सशक्तीकरण तथा विद्युतीय माध्यमबाट हुने ठगी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
थाहा नगरपालिका महिला विकास शाखाको सहयोग तथा चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शिखरकोटस्थित शंकर होटलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्यले प्रशिक्षकका रूपमा सहभागी भई अनलाइन ठगीका विभिन्न तरिका, त्यसबाट बच्ने उपाय तथा डिजिटल सचेतनाका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले सामाजिक सञ्जाल, मोबाइल एप र विभिन्न अनलाइन माध्यम प्रयोग गर्दा सचेत रहन महिलाहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा चेतनशील महिला सहकारीकी अध्यक्ष शकुन्तला गोपालीको अध्यक्षता रहेको थियो भने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
प्रमुख अतिथि उपप्रमुख गोपालीले महिलाको आर्थिक, सामाजिक तथा डिजिटल सशक्तीकरण आजको आवश्यकता भएको बताउँदै स्थानीय सरकारले महिलाको क्षमता विकास, सुरक्षा र आत्मनिर्भरता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “महिलाहरू सशक्त भए मात्र परिवार, समाज र राष्ट्र सशक्त हुन्छ। अहिले डिजिटल प्रविधिको प्रयोग बढेसँगै अनलाइन ठगीका घटना पनि बढिरहेका छन्, त्यसैले यस्ता सचेतनामूलक कार्यक्रम अत्यन्तै आवश्यक छन्।”
कार्यक्रममा थाहा नगर महिला तथा बालबालिका विकास समिति संयोजक अनिता बल लामा, महिला विकास शाखा प्रमुख प्रतिमा लामा, कार्यपालिका महिला सदस्यहरू तथा थाहा नगरपालिकाका १२ वटै वडाका महिला जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाहरूले अनलाइन माध्यमबाट हुने ठगीका घटनाबारे जानकारी लिँदै त्यसबाट जोगिने उपायबारे छलफल गरेका थिए। कार्यक्रमले महिला सशक्तीकरणसँगै डिजिटल सुरक्षा सम्बन्धी सचेतना बढाउन सहयोग पुग्ने आयोजकले जनाएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan