
फाल्गुन ६,हेटौंडा/ आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मकवानपुरका उम्मेद्वारहरूले घरदैलो अभियान औपचारिक रूपमा सुरु गरेका छन्। क्षेत्र नम्बर,१ का उम्मेद्वार तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नम्बर,२ का उम्मेद्वार सन्तोष विष्टले मतदातामाझ पुगेर प्रत्यक्ष संवाद सुरु गरेका हुन्।
क्षेत्र नम्बर,१ का उम्मेद्वार उप्रेतीले मंगलबार हेटौंडा उपमहानगरपालिका,१० बुद्धचोकबाट पार्टीको झण्डासहित र्याली निकाल्दै अभियानको शुभारम्भ गरेका थिए। उनले घर–घरमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा सार्वजनिक गरेका छन्।

उप्रेतीले अन्य दलभन्दा फरक सोच र स्पष्ट दृष्टिकोणसहित आफूहरू चुनावी मैदानमा उत्रिएको दाबी गरे। “हामी शान्तिपूर्ण र मर्यादित तरिकाले प्रचार–प्रसार गर्नेछौं, कसैलाई असहज नपार्ने गरी अभियान अघि बढ्छ,” उनले विश्वास दिलाए।
यसैगरी, क्षेत्र नम्बर,२ का उम्मेद्वार विष्टले पछिल्लो समय देशभर देखिएको अन्याय, अत्याचार र दमनविरुद्ध आफूहरू आवाज उठाउँदै चुनावमा सहभागी भएको बताए। उनले भदौ २३ र २४ गते भएको घटनाक्रमलाई स्मरण गर्दै जनताको अधिकार र न्यायका लागि आफूहरूको उम्मेदवारी रहेको स्पष्ट पारे। साथै, उनले मतदातालाई विवेकपूर्ण निर्णयसहित मतदान गर्न आग्रह गरे।
दुवै उम्मेद्वार सफल व्यवसायीसमेत हुन्। उनीहरूले मकवानपुरमा वर्षौंदेखि थाँती रहेका भूमि सम्बन्धी समस्या, भुमिहीन सुकुम्बासीको मुद्दा,अस्तव्यस्त सडक सञ्जाल, व्यवहारिक तथा प्राविधिक शिक्षाको अभाव, विकास निर्माणमा पारदर्शिताको कमी लगायतका विषय समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रलोपा मकवानपुरले यसपटक “विकास, पारदर्शिता र न्याय” लाई मुख्य नाराका रूपमा अघि सारेको जनाएको छ। घरदैलो अभियानमार्फत जनताको सुझाव संकलन गर्दै साझा विकासको मार्गचित्र तयार पारिने पार्टीले जनाएको छ।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan