

फाल्गुन,५ मकवानपुर /आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुरका दुई निर्वाचन क्षेत्रमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) का उम्मेदवारहरूले आफ्ना महत्वाकांक्षी चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्।
सोमबार आयोजित कार्यक्रममा मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) र क्षेत्र नं. २ का उम्मेदवार सन्तोष विष्ट ले आर्थिक समृद्धि, सुशासन र नागरिकका आधारभूत अधिकारलाई केन्द्रमा राख्दै आफ्ना एजेन्डा सार्वजनिक गरेका हुन्। क्षेत्र नं. १ : कार्यकारी राष्ट्रपति, जनलोकपाल र ‘राइट टु रिकल’को प्रस्ताव
हेटौँडा–१९, बस्तीपुर निवासी समाजशास्त्र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत उप्रेतीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
उनका प्रमुख एजेन्डाहरूमा
भ्रष्टाचार नियन्त्रणका लागि ‘जनलोकपाल’ व्यवस्था
जनप्रतिनिधिलाई प्रत्याह्वान गर्ने ‘राइट टु रिकल’ अधिकार
कृषिमा बिचौलिया प्रथाको अन्त्य
‘पढ्दै कमाउँदै’ कार्यक्रममार्फत युवालाई वर्तमानको साझेदार शक्ति बनाउने योजना
पर्यटन विकासका लागि दीर्घकालीन गुरुयोजना
नदी कटान नियन्त्रण र वैज्ञानिक कृषि प्रणाली
निःशुल्क शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने पहल
हेटौँडाको व्यवस्थित सहरी विकास
दोहोरो कर प्रणाली अन्त्य
उप्रेतीले आफ्ना एजेन्डा जनउत्तरदायी शासन र दिगो विकासमा केन्द्रित रहेको दाबी गरेका छन्।

क्षेत्र नं. २ : गाँजा खेती वैधानिकता र द्रुतमार्ग निर्माणको एजेन्डा
थाहा नगरपालिका–३, बाहुनगाउँ निवासी राजनीतिशास्त्र स्नातकोत्तर तथा उद्योग–व्यापार क्षेत्रमा सक्रिय विष्टले गाँजा खेतीलाई औषधीय प्रयोजनका लागि वैधानिकता दिने योजना अघि सारेका छन्।
उनका प्रमुख प्रतिबद्धतामा,
गाँजा प्रशोधन उद्योग स्थापना
काठमाडौं–चित्लाङ सडकलाई राष्ट्रिय गौरव आयोजनाको प्राथमिकता
कुलेखानी–फर्पिङ सडक स्तरोन्नति
काठमाडौं-थाहा-कैलाश हुँदै चितवन-पोखरा जोड्ने द्रुतमार्ग निर्माण पहल
कक्षा १२ सम्म निःशुल्क शिक्षा
प्रत्येक पालिकामा १५ शय्याको अस्पताल
हरेक वडामा एम्बुलेन्स सेवा
जडीबुटी, खानी तथा वनजन्य उद्योगमार्फत रोजगारी सिर्जना
पूर्व जनयुद्धकालीन अनुभव बोकेका विष्टले विकास, रोजगारी र बसाइँसराइ रोकथामलाई आफ्नो मुख्य लक्ष्य बताएका छन्।
दुवै उम्मेदवारले आफ्ना एजेन्डा परिवर्तनमुखी र जनमुखी रहेको दाबी गर्दै मतदातासँग समर्थनको अपिल गरेका छन्।





युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan