जनताको म्यान्डेट कि पदको सिँढी ? सत्ता लोभमा अल्झिएको नेपाली राजनीति

नयाँ पुस्ता परिवर्तनको आशामा छ, तर दलहरू भने अझै पनि दशकौँदेखि घिस्रिँदै आएका अनुहारहरूलाई नै ‘अनिवार्य विकल्प’ बनाएर प्रस्तुत गरिरहेका छन्। जनताले त मत दिए, जिम्मेवारी सुम्पिए,तर नेताहरूले त्यो म्यान्डेटलाई सेल्फी स्टिक जस्तै प्रयोग गरेर अर्को ठूलो पदको तस्वीर खिच्न थालेका छन्।
आज वडाध्यक्ष, नगर प्रमुख, उप–प्रमुख, प्रदेश सांसद बनेका नेताहरूलाई हेर्दा लाग्छ !
उनीहरू जनताको सेवक होइनन्, प्रतिनिधि सभा उम्मेदवार बन्ने तयारी कक्षका विद्यार्थी हुन्।
स्थानीय तह उनीहरूका लागि सेवा गर्ने थलो होइन, बायोडाटा चम्काउने प्लेटफर्म बनेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा एउटै स्वर सुनिन्छ ,
अब त समय आयो।
हो, समय आयो तर काम पूरा गर्ने होइन,पद फेर्ने समय।
जनताले दिएको म्यान्डेट बीचमै छोडेर राष्ट्रिय राजनीतिमा हाम फाल्नु के हो ?
यसलाई महत्वाकांक्षा भनिन्छ कि विश्वासघातको सौम्य शब्दावली ?
दशकौँदेखि उही अनुहार, उही भाषण, उही आश्वासन, तर नतिजा चाहिँ उही शून्य।
कुनै वडामा सडक बनेन, कुनै नगरमा रोजगारी आएन, कुनै प्रदेशमा दिगो योजना देखिएन,
तर नेताहरू भने आत्मविश्वासका साथ भन्छन्,
अब देश चलाउने पालो हाम्रो हो।
जनताले आज खुलेर सोध्न थालेका छन्
“स्थानीय तहमा केही गर्न नसक्नेले सिंहदरबार पुगेर चमत्कार गर्छ ?”
यो प्रश्न नेताहरूलाई असहज लाग्न थालेको छ, किनकि यसमा जवाफ होइन, ऐना छ।
आजको जनमत स्पष्ट छ।
अनुहार होइन, विचार चाहिन्छ। भाषण होइन, परिणाम चाहिन्छ। नाता होइन, निष्ठा चाहिन्छ।
तर दलहरूको टिकट वितरण प्रणाली हेर्दा लाग्छ।
योग्यता होइन, नजिकको घेरा,
योगदान होइन, सत्ता समीकरण,
र जनभावना होइन, नेतृत्वको मूड निर्णायक छ।
कार्यकर्ता जो पार्टीको मेरुदण्ड भनिन्छ। आज सबैभन्दा कमजोर अवस्थामा छन्।
उनीहरूको पसिना भाषणमा स्मरण गरिन्छ, तर टिकट वितरणमा बिर्सिइन्छ।
जब कार्यकर्ताको भावना कुल्चिन्छ, तब पार्टीभित्र लोकतन्त्र होइन, दरबार संस्कृति मौलाउँछ।
अब नेतृत्वले बुझ्नैपर्ने सत्य के हो भने
जनता थाकेका छन्, कार्यकर्ता आजित छन्, र समय बदलिँदै छ।
एकपटक पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा नगर्नेहरूलाई
फेरि फेरि पुरस्कृत गर्ने गल्ती अब जनता दोहोर्याउन चाहँदैनन्।
यो चुनाव नेताहरूका लागि पद जोगाउने लडाइँ हुन सक्छ,
तर जनताका लागि भने यो राजनीति सफा गर्ने अवसर हो।
यदि दलहरूले नयाँ नेतृत्वलाई स्थान दिएनन् भने,
जनताले आफैँ नयाँ नेतृत्व जन्माउनेछन् !!
मतपेटिकामार्फत,
निर्णयमार्फत,
र इतिहासमार्फत।
अब प्रश्न सरल छ
राजनीति जनताको सेवाका लागि हो कि नेताको करियरका लागि?
उत्तर यसपटक जनताले अबस्य दिनेछन्।

लेखक : बुद्धराज अर्याल अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष हुन !!!

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.