
हेटौंडा, १४ कात्तिक/साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका आयोजक नेपाल र बंगलादेश बीच बुधबार दशरथ रंगशालामा हुँदैछ ।
बुधबार साँझ साढे ६ बजेदेखि सुरु हुने फाईनल खेलमा नेपालले सन् २०२२ को साफ च्याम्पियनसिपको बिजेता बंगलादेशलाई पराजित गरेर पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेकोछ ।
गत आईतबार भएको सेमिफाईनल खेलमा बंगलादेशले भुटानलाई ७–१ गेल अन्तरले पराजित गरेर फाईनल प्रवेश गरेको थियो । भने नोपालले भारतलाई ट्राईबे्रकरमा ४–२ गोल अन्तरले पराजित गरेर फाईनल यात्रा गरेको थियो । नेपाल र भारत बिचको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल ट्राईबे्रकरमा गएको थियो ।

नेपाल टिम
बलियो प्रतिद्वन्दी: उत्कृष्ट फर्ममा नेपाल
पछिल्लो समयमा बंगलादेशको फुटबल टिम निकै शशक्त रुपमा आएको छ । २०२२ को साफ च्याम्पियनसिपको बिजेता बंगलादेश यस संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै फाईनलमा उपाधि जित्ने लक्ष्यमा छ ।
बंगलादेशले समूह चरणमा भारतसंग ३–१ गोल अन्तर र पाकिस्तानसंगको खेल बराबरी गरी समूह बिजेता भई सेमिफाईनल प्रबेश गरेको थियो भने नेपालले समूह चरणमा भुटानसंग गोलरहित बराबरी, माल्दिभ्ससंग ११–०, र श्रीलंकासंग ६–० गोल अन्तरको खेलमा समूह बिजेता भई सेमिफाईनल प्रवेश गरेको थियो ।सेमिफाईनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरी फाईनल प्रवेश गरेका हुन् ।
फाइनलमा लगातार पराजयको शृङ्खला तोड्ने पखाई छ, नेपाल । भर्खरै महिला लिग सकिएको र विदेशी लिगमा जमेका खेलाडी सम्मिलित नेपाली टिम उत्कृष्ट फर्ममा छ । सावित्रा भण्डारी ‘साम्बा’को तीव्र रनिङ, प्रिती राईको शानदार क्रस, गीता रानाको उत्कृष्ट डिफेन्स अनि रेणुका नगरकोटीको चुस्त मिडफिल्ड चम्किए बंगलादेशमाथि जित्न निकाल्न पर्याप्त हुन्छ ।
बंगाली स्टार विंगर रितु पोर्ना चक्मा, अनुभवले निखारिएकी सविना खातुन, फिनिसिङ टच दिन माहिर तोहुरा खातुनसँगै टिमलाई एकबद्ध गराउन सफल मारिया माण्डा र मसुरा परविन प्रशिक्षक पिटर जेम्स बटलरको रणनीतिमा अब्बल देखिएका छन् ।
नतिजाका हिसाबले अघिल्लो सिजनभन्दा बलियो बंगलादेशविरुद्ध अनिता केसी, सविता राना मगर र रश्मी घिसिङले दबाब बनाउनु नै जितको आधार हुन्छ ।

बंगलादेश टिम
नेपाललाई जित्नै पर्ने दवाब
नेपाल अहिलेसम्म पाँच पटक साफ च्याम्पियनसिपको फाइनल पुगेर पनि उपाधि जितेको छैन । पाँच पटक भारत र एक पटक बंगलादेश च्याम्यियन बनेका छन् । समग्रमा भन्ने हो भने विभिन्न प्रतियोगिताका ११ फाइनल खेल्दासम्म नै नेपाल उपाधिविहीन छ । फाइनलमा भने नेपाली टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेको थिएन । यो पटकको साफ च्याम्पियनसिपले उपाधिको उक्त खडेरी तोडिने अपेक्षा छ ।
साफको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै छैटौँ पटक फाइनलमा स्थान बनाएको हो। उता बंगलादेशले भने भुटानमाथि ७–१ को फराकिलो जित दर्ता गर्दै तेस्रोपटक उपाधि नजिक पुगेको हो ।
१२ वर्षमा खोला पनि फर्कन्छ भने झैं नेपाली राष्ट्रिय महिला टोलीका लागि यो संयोग घरेलु मैदानमा नै जुरेको छ। न्ेपाली महिला फुटबल टोलीले १२ औँ अन्तरराष्ट्रिय फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको छ । त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
अघिल्लो संस्करणको इतिहास
साफको सेमिफाइनल र फाइनलमा अघिल्लो संस्करणको इतिहास नै दोहोरिएको छ । तर नेपाली टोली भने यो पटक साफको फाइनलमा अघिल्लो चरणको नतिजालाई बिर्सेर नयाँ सुरुवात गर्न चाहन्छ । बंगलादेश भने अघिल्लो संस्करणको नतिजा नै दोहोराउने योजनामा छ ।
अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो । दोस्रो पटक फाइनल पुगेको बंगलादेश भने त्यतिबेला पहिलो पटक च्याम्पियन बनेको थियो ।
फाइनलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका मुख्य प्रशिक्षकले आज हुने फाईनल खेलमा मैदानमा जसको म्यानेज राम्रो छ उपाधि उसले नै जित्ने बताएका छन्। मैदानमा टिम म्यानेजबिना कुनै पनि टोलीले राम्रो खेले पनि नतिजा ल्याउन नसक्ने बताएका छन्।
१४ बर्षमा ११ पटक ठूला प्रतियोगिताको फाइनल नेपाल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०१० यता ११ पटक ठूला प्रतियोगिताको फाइनलमा खेलेको छ । तर ती सबै प्रतियोगितामा नेपाल उपविजेतामा सिमित भएकोे छ । त्यसैले नेपाली टोलीले स्थायी उपविजेताको छवि बनाएको छ।
साफमा मात्र छैटौँ पटक उपाधिका लागि प्रतिस्पर्धा गर्दै गर्दा पाँच पटकको उपविजेता टोली हो, नेपाल ।
तर घरेलु मैदानमा यो पटक नेपाली टोली त्यो छविलाई मेटाउँदै नयाँ किर्तिमान बनाउन प्रतिवद्ध छ। नेपालले यसअघि सन् २०१०, २०१२, २०१४, २०१९ र २०२२ मा साफको उपविजेतामा सिमित भएको थियो ।
यस्तै सन् २०१०, २०१६ र २०१९ मा दक्षिण एसियाली खेलकुद (साग) को उपविजेता बनेको छ। सन् २०१८ को हिरो गोल्डकप र २०१९ को नादेझ्दा कपमा पनि नेपाल उपविजेता बनेको थियो। त्यसपछि सन् २०२४ मा साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा पनि नेपाल उपविजेतामा नै सिमित बनेको थियो।
‘हामी सक्छौं, हामी गछौं’
वाफ च्याम्पियनसिपमा उपविजेता बनेर स्वदेश फर्किएको नेपाली महिला टोली २ साताको तयारीमा साफका लागि मैदानमा प्रशिक्षणरत छन्।
यो पटक पनि टोलीले उपाधि जित्न नसके यस्तो टिम बनाउन अझै ५ देखि १० वर्ष लाग्ने भएकाले महिला टोलीका लागि उपाधि जित्न आवश्यक रहेको टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाले बताइन् ।
हाम्रो टिमको ‘हामी सक्छौं, हामी गछौं’ भन्ने सिद्धान्त अनुसार यसपटकको उपाधि रक्षाको लागि नेपाली टिम प्रतिबद्ध रहेका कप्तान सुब्बाले बताईन् । अहिले टोलीको स्प्रिट अनुसार आफुहरुले उपाधि जित्ने कप्तान सुब्बाको भनाई छ । अघिल्ला खेलमा भएका कमजोरीहरुलाई सुधारेर उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।

नेपाली कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा
मुख्य तीन खेलाडी मैदान बाहिर
साफको फाइनलमा बंगलादेशविरुद्ध मैदान उत्रदै गर्दा महिला टोली केही समस्यामा भने पक्कै हुनेछ। साफको पहिलो खेलमा भुटानविरुद्ध नै नेपाली टोलीले मुख्य दुई खेलाडीलाई गुमाएको छ। टोलीकी फरवार्ड हिराकुमारी भुजेल र मिडफिल्डर दिपा शाहीले चोटका कारण च्याम्पियनसिप नै गुमाएका छन्।
यस्तै टोलीकी अर्की फरवार्ड रेखा पौडेलले पनि सेमिफाइनलमा दोहोरो पँहेलो कार्ड पाएसँगै फाइनल खेल गुमाएकी छिन्।
मुख्य तीन खेलाडीले फाइनलमा बाहिर हुँदा नेपालको बेन्च भने केही कमजोर देखिएको छ। तर टिममा भएका सबै खेलाडीहरु उत्कृष्ट भएकोले उपाधिका लागि बंगलादेशलाई कडा टक्कर दिने रणनीतिमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङ छन्।
पछिल्लो साफबाट राष्ट्रिय टिममा पुनरागमन गरेकी रेखा पौडेलसँगै दीपा शाही र हिराकुमारी भुजेल फाइनलमा नहुनु नेपालका लागि सहज छैन् । यद्यपि उपलब्ध खेलाडीबाटै नेपाल उपाधि जित्न सक्षम देखिएको छ । अहिलेसम्म उपाधिको स्वाद चाख्न नपाएको नेपाली टिमले फाइनलको सुरुआतबाटै राम्रो खेल्नु पर्नेछ ।
मुख्य फरवार्ड साम्बामाथि सबैको नजर
बंगालदेशविरुद्ध फाइनल खेल्दै गर्दा सबैको नजर मुख्य फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ माथि हुनेछ।
हाल फ्रान्समा युरोपियन लिग खेलिरहेकी सावित्राले भारतविरुद्ध आक्रमक प्रर्दशन गर्दै आफूलाई फेरि एकपटक ‘साम्बा’ भएको सावित गरेकी छिन् । सनसनीपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालका लागि सावित्राले भारतविरुद्ध गोल गर्दै खेललाई टाइब्रेकरसम्म पु¥याएकी थिइन्।
भारतविरुद्धको गोलपछिको साम्बाको सेलिब्रेसनको अझै पनि सामाजिक सञ्जालमा चर्चामा छ।

सावित्रा भण्डारी ‘साम्बा’
सावित्रालाई सविता राना मगर र प्रिती राईले राम्रो साथ दिइरहेका छन्। मिडफिल्डमा रेनुका नगरकोटी, सरु लिम्बु लगायतका खेलाडीले उच्च प्रर्दशन गर्दै आएका छन्।
नेपालको डिफेन्स लाइनमा गीता रानाको विकल्प छैन। नेपाली टोलीको रक्षाका लागि खम्बा बनेर उभिएकी गितालाई अमृता जैसीले राम्रो साथ दिइरहेकी छिन्। बंगलादेशविरुद्ध हिरा र दिपाको अभाव महसुस भने पक्कै हुनेछ।
चोटका कारण साफकै केही खेलमा बेन्चमा रहेका पुजा राना, अमिसा कार्की लगायतका खेलाडी अहिले पूर्ण रुपमा फिट छन्। त्यसैले टोलीमा अभावलाई बिर्सेर नयाँ इतिहास लेख्न नेपाली टोली उच्च मनोबलसहित मैदानमा उत्रदैछ।
टिमको १२ औं खेलाडीको रुपमा दर्शकहरुको साथ र समर्थनलाई आत्मसाथ गर्देै उत्कृष्ट प्रदर्शनका साथ उपाधि जित्ने योजनामा रहेको मुख्य फरवार्ड सावित्रा भण्डारीले बताईन् ।
घरेलु समर्थकको राम्रो साथ पाएको महिला टोली यो पटक उपाधि जित्दै सबै नेपालीलाई तिहारको उपहार दिन चाहन्छ। त्यसैले नेपाली टोली एक भएर बंगलादेशविरुद्ध मैदान उत्रदैछ । घरेलु मैदानमा पहिलो पटक उपाधि जित्दै नेपाली महिला टोली नयाँ युगको सुरुवात गर्ने योजनामा छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan