
पालुङमा हराइसकेको परम्परालाई पुनः जीवित गर्दै ईन्द्र जात्रामा भैरवको मुखबाट छ्याङ प्रसाद खुवाउने
थाहा नगरपालिका (मकवानपुर) — पालुङमा यस वर्षको इन्द्रजात्रामा हराइसकेको परम्परा पुनः सुरु हुँदैछ। दशकमै हराएको भैरवको मुखबाट छ्याङ वितरण गर्ने चलन यसपटक पुनर्जीवित गरिएको हो।
स्थानीय ‘पालुङ नेवा संस्कृति सम्पदा संरक्षण गुठी’ले यो प्राचीन संस्कारलाई व्यवस्थापन गर्दैछ। गुठीका अनुसार, यसपटक विशेष मुकुटमार्फत भैरवको मुखबाट छ्याङ निकाल्ने तयारी गरिएको छ।
स्थानीयका अनुसार “पहिले–पहिले भैरवलाई छ्याङको जुठो लगाएर त्यसलाई प्रसादको रूपमा बाँडिन्थ्यो।”
काठमाडौं उपत्यकामा जहाँ प्रायः स्वेत भैरवको मुखबाट छ्याङ निकालिन्छ, त्यहाँ पालुङमा भने काला भैरवको मुख प्रयोग गर्ने परम्परा छ। विशेषत: यहाँ महिलालाई छ्याङ खान रोकिएको छैन, तर भैरवको मुकुट छुन भने अझै निषेध छ।
इतिहासविद्हरू भन्छन्, यो चलन प्राचीन समयमा राजाहरूले मृत आत्मालाई तर्पण दिने संस्कारसँग सम्बन्धित थियो। पालुङ विगतमा अलग राज्य भएकाले यो परम्पराको जड त्यतिबेलै रहेको हुनसक्ने स्थानीय निरोज़ प्रधानले बताए।
यसपटक छ्याङसँगै डबली (सांस्कृतिक ग्राम) परिसरमा अन्य प्रसाद पनि वितरण गरिनेछ भने स्थानीय युवाहरुले ब्यान्ड बाजाको डेमो समेत प्रदर्शन गर्ने स्थानीय युवा रमन श्रेष्ठले जानकारी दिए।
यसपालि २१ भाद्रमै पालुङको इन्द्रजात्रा परेको छ। काठमाण्डौमा र पालुङमा एक दिनको फरकमा इन्द्रजात्रा पर्ने भएतापनी यसपटक भने २१ भाद्रमै इन्द्रजात्रा मनाइने पालुङका विश्व प्रधानले जानकारी दिए।
पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।
यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणिको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।
भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।
इन्द्रजात्रा परम्परागत रूपमा भाद्र शुक्ल चतुर्दशीमा मनाइन्छ। यस पर्वमा देवपूजा, इन्द्रध्वज उठाउने र शक्ति प्रदर्शन गर्ने परम्परा रहेको छ।
पालुङमा यस वर्षको इन्द्रजात्रा भाद्र २१ गते दिउँसो २ बजे सुरु हुने तय भएको छ। कार्यक्रममा बागमती प्रदेश–२ (क) की सांसद तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोत्तःानसहित स्थानीय तथा प्रदेशस्तरीय व्यक्तिहरूको सहभागिता रहनेछ।
यसरी मनाइन्छ इन्द्रजात्रा ?
हामी गठेमंगलमा देउता निकाल्छौं । नेवारहरुको कल्चर गठेमंगलबाट सुरु हुन्छ । लाखे नचाउन थालिन्छ । योभन्दा अगाडिको पूर्णिमाको दिन सबै नेवारहरुको हिलेजात्रा लाग्छ । अब हामी आज इन्द्रजात्रा मनाएर सबै देवी देउता भित्र राख्छौं । यसपछि हामीले अर्काे वर्षको गठेमंगलमा मात्रै देउता निकाल्ने चलन छ । इन्द्रजात्राको दिन हामीले गणेश, कुमारी, इन्द्रायणी, बाराही र भगवती नचाउँछौं । कालभैरव पनि नचाइन्छ ।
काठमाडौँको इन्द्रजात्रामा बेग्लै रथहरु हुन्छन् । पालुङको इन्द्रजात्रामा रथ हुँदैन । देवीहरु नचाइन्छ । र, उनीहरुलाई बोकाको भोग दिइन्छ । देवीहरुले बोकाको भोग खान्छन् । देवी नाच्नेहरुले काम्ने गर्छन् । तान्त्रिक विधिबाट पुजा हुन्छ । देवीहरुले भोग खाएपछि त्यही प्रसाद पकाएर हामी भोज खान्छौं । र, देउतालाई अब अर्काे वर्षसम्मको लागि बसिदिन अनुरोध गर्दछौं । पालुङका नेवारहरु धेरै पहिला काठमाडौँबाट आएका हुन भन्ने किंवदन्ती छ । काठमाडौँबाट बाहिर गएका अन्य स्थानका नेवारहरुले इन्द्रजात्रा मनाउँछन् जस्तो लाग्दैन । तर, हामीहरु चै मनाउने गर्छाैं ।
पालुङमा घोडेजात्रा पनि मनाइन्छ । पालुङमा अघिल्लो दिन घोडेजात्रा मनाइन्छ, काठमाडौँमा भोलिपल्ट । र, इन्द्रजात्रा भने अघिल्लो दिन काठमाडौँमा र भोलिपल्ट पालुङमा मनाउने गरिन्छ । किन यसरी एक दिन अघि वा पछि मनाइन्छ भन्ने चाही मलाई थाहा भएन । पालुङमा हामी ८० देखि ९० घर नेवार छौं । इन्द्रजात्राको दिन विहान सबैले घरघरबाट पुजा लानुपर्छ । त्यसमा पाँचवटा देवीलाई ५ वटा अण्डा लग्नै पर्छ । छ्याङ पनि लाने गरिन्छ । समयबजी भुटेर र फलफूल राखेर लानुपर्छ । हाम्रो कालाभैरव गुठी छ । अर्काे ३ वर्षे जात्रा पनि छ । यी ५ वटै देवीको ५ वटा रथ पनि छ । त्यो ठूलो जात्रा हो । पुजारी नेवारहरु नै हुन्छन् । पुजारीहरु विहानैदेखि भोकै बसेका हुन्छन् ।
दिउसो ३ बजेदेखि लाखे नचाउने, ख्या नचाउने, राजारानी नचाउने गरिन्छ । हाम्रो देउता कामिरहेको हुन्छ । उनीहरुलाई ल्याएर मुकुट लगाइन्छ । अनि १ घण्टाजति नचाइन्छ । नाच्दै गर्दा देउताले घरघरबाट ल्याएको अण्डा खान्छन् । आ–आफ्ना देवीहरुलाई देउताले नै अण्डा दिन्छन् । आफ्ना देवीहरुलाई ५÷१० वटा अण्डा फुटाएर दिन्छन् । देउता आफैले पनि ५/१० वटा अण्डा खान्छन् । नाच्दा नाच्दा थकाइ लागेपछि देउताले जलको रुपमा रक्सी खान्छन्, अण्डा पनि खान्छन् । अन्तिममा एउटा बोका काटिन्छ । सबै देवीले त्यही एउटा बोकाको भोग खान्छन् ।
निरोज प्रधान
बोका भैरवले काट्छन्, सुरुमा गणेशले भोग खान्छन् । त्यसपछि सबै देवीले पालैपालो भोग खान्छन् । भोग खान लागेपछि देवीले बोका छोड्दै छोड्दैनन् । ८–१० जनाले बोका तान्नुपर्छ र त्यति नै जनाले देउता समाएर तान्नुपर्छ । अनि मात्रै भोग छुटाउन सकिन्छ । हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन । कहिल्यै रक्सी नखानेले पनि रक्सी खान्छन् । भोज खादावर्दा रातिको १० जति बजिसक्छ । देउतालाई भने साझ ७ बजेतिर विदा गरिन्छ । पालुङको नेवार गाउँको बीचमा डबली छ, नाच त्यही हुने हो । डबली २ वटा छन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan