
थाहा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको निर्वाचन क्षेत्र न २ र प्रदेश सभा २(क) को क्षेत्रीय अधिवेशन थाहाको शंकर होटलमा सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता क्षेत्रीय अध्यक्ष राम बहादुर घलेले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात समितिका सभापति तथा राप्रपाका सांसद दीपक बहादुर सिंह हुनुहुन्थ्यो।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य राम बहादुर थोकर, रामहरी न्यौपाने, प्रदेश सचिव गुन्जन बहादुर न्यौपाने, प्रदेश सदस्य खुशी कार्की, जिल्ला कार्यवाहक अध्यक्ष सागर थापा, जिल्ला सदस्य दीपक थापा, तिर्थ मोक्तान, निर्वाचन समितिका संयोजक गोपी न्यौपाने, सह-संयोजक महेन्द्र इटनी, संघीय निर्वाचन क्षेत्र १(क) का अध्यक्ष सिताराम बर्तौला, २(ख) का अध्यक्ष नरहरी सुवेदी, हेटौंडा उपमहानगर अध्यक्ष अरुण लामा, थाहा नगर अध्यक्ष कुलमान तामाङ लगायतका भातृ संगठनका नेताहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रमुख अतिथि सिंहले २०४६ साल पछिका सबै काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले देशमा सुशासन र संविधान संशोधन गर्ने भन्दै एमाले–कांग्रेस मिलेको भए पनि प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन पछि भ्रष्टाचारको पहिरो झनै बढेको आरोप लगाउनुभयो। उहाँले अहिले त ‘भिजिट भिसा’ मा युवाहरू नै बेचिन थालेको अवस्थामा मुलुक गइरहेको दुखेसो पनि गर्नुभयो।
सिंहले राप्रपाले संसदीय छानबिनको माग गर्दै दुई महिना सदन अवरुद्ध गरिसकेको जनाउँदै अहिले अन्तर्राष्ट्रिय दबाबपछि मात्र संवादमा बस्ने संकेत देखिएको बताउनुभयो। देशको विकास र सुशासन राप्रपाले मात्र दिन सक्ने दाबी गर्दै, आफूले थाहा नगरमा इलाका प्रशासन कार्यालय स्थापनाको लागि निरन्तर संसदमा आवाज उठाइरहे पनि सरकारमा रहेका दलका सांसदहरूले सहयोग नगरेको गुनासो गर्नुभयो।
अधिवेशनले मकवानपुर क्षेत्र नं. २(क) मा नवीन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति र २(न) मा राम थोकरको अध्यक्षतामा अर्को १६ सदस्यीय कार्यसमिति चयन गरेको छ। बाँकी पदाधिकारीहरू अर्को बैठकमार्फत चयन गरिने जनाइएको छ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan