
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले बिहीबार साँझ भारतको नयाँदिल्लीमा आयोजना गरेको ‘नेपाल-भारत बिजनेस समिट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण भएकाले खुला हृदयका साथ नेपालमा लगानीका गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्।
‘नेपाल सरकारले नीतिगत, कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको छ। लगानीमैत्री वातावरण बनाउन र लगानी भित्र्याउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तयार छ,’ उनले भने। प्रधानमन्त्री प्रचण्डले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडि बढ्न वर्तमान सरकार तयार रहेको समेत स्पष्ट पारे। भारतका वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले भारत र नेपालबीचको सम्बन्ध राजनीतिक वा भूराजनीतिक वा आर्थिक मामिलाहरूमा सीमित नभएको बताए।
‘हामीसँग साझा इतिहास छ। गहिरो सांस्कृतिक आत्मीयता र बलियो मित्रता छ,’ उनले भने, ‘यो साझेदारी र मित्रता होइन, यो एक परिवार हो। हामी भारतबाट नेपाल र नेपालबाट भारतमा धेरै व्यापार र लगानी प्रवाह भएको देख्न चाहन्छौं। म विश्वस्त छु, हामी दुवै देशका बालबालिकाको साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर काम गर्न सक्छौँ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीमैत्री नीति, नियम तथा कानुनी सुधारमा भइरहेका प्रयासहरुले अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय रहेको बताए। उनले नेपालमा रहेका भारतीय कम्पनीहरुले राम्रो नाफा आर्जन गरिरहेको दृष्टान्त पेस गर्दै यो सफलताको उदाहरण नै नेपालमा लगानी गर्न प्रयाप्त आधार रहेको बताए।
ढकालले नेपालका ऊर्जा, जलस्रोत, कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार विकासमा लगानी गर्न सकिने जानकारी दिए। उनले नेपाल उद्योग वाणिज्य महासंघले भारतीय निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आवश्यकता अनुसार सहजीकरण गर्ने र नेपालको निजी क्षेत्रले साझेदारी समेत गर्न सक्ने बताए।
भारतीय उद्योग परिसंघका अध्यक्ष आर दिनेशले भारत र नेपालबीचको भौगोलिक निकटताको लाभ उठाउन र पारस्परिक विकासको लागि एक अर्काको बजारहरूका अवसर ट्याप गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण तेस्रो जस्तो ठूलो आयोजनाको सफल कार्यान्वयनले नै नेपाल लगानीका लागि सहज गन्तव्य रहेको स्पष्ट रहेको बताए।
युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan