मनहरीका अध्यक्षले आफ्नो भत्ताबाट बनाइदिए एकल महिलाको घर

हेटौंडा– गत २०७९ सालको स्थानीय तहको निर्वाचनमा मनहरी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्दै गर्दा रन्जन कालाखेतीले गरेको केही बाचामध्ये एउटा बाचा थियोः ‘म जनप्रतिनिधि भएँ भने कुनै पनि सुविधा र भत्ता लिन्नँ, पाएको भत्ता रकमबाट सामाजिक सेवा गर्छु ।’ नेपाली कांग्रेसकातर्फबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवार उनै कालाखेती अध्यक्षमा निर्वाचित पनि भए र निर्वाचित भएसँगै उनले आफ्ना बाचाहरु पूरा गर्नमा पनि ध्यान केन्द्रित गर्न थाले ।

कालाखेतीले आफ्नो तलब भत्ताको रकम कहिले न्युन वर्गीय बालबालिकाको शिक्षामा खर्च गर्छन् त कहिले चाडपर्वका बेला न्युन वर्गीय परिवारलाई खाद्यान्न र कपडा किन्नमा सहयोग गर्छन् । सोही क्रममा कालाखेतीले मनहरी–५ नम्बर वडामा रहेकी एक विपन्न एक महिलाको घर नै बनाइदिएका छन् । कालाखेतीले आफ्नो तलबभत्ताको रकमबाट मनहरी – ५ बसन्तपुरकी सोनी राईको घर निर्माण गरिदिएका हुन् । मंगलबार एक कार्यक्रमकाबीच २ लाख १५ हजार रुपैयाँ खर्चिएर बनाइएको पक्की घर हस्तान्तरण गरिएको हो । अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आएका छन् । सोही कोषबाट राईलाई घर बनाइदिएका हुन् ।

सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि सानो छाप्रोमा जीवन काट्दै आएकी थिइन् । ‘वर्षायाममा पानी चुहिन्थ्यो । हिउँदमा हावाहुरीले छाप्रो उडाउलाझैँ हुन्थ्यो । तपाईहरुले सबैले सहयोगले घर बन्यो, साह्रै खुसी लाग्या छ ।’ सोनीले भनिन् ।

स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए । ‘सोनी दिदीको अवस्था देखेर हामी निकै चिन्तित थियौँ । पढलेख गर्न पनि जान्नुहुन्न । ज्याला गरे बिहान बेलुकाको छाक टार्नुहुन्छ, उहाँको दुःख देखेर गाउँपालिका अध्यक्षलाई भनेका थियौँ, उहाँले घर बनाइदिनुभयो । राम्रो भयो ।’ स्थानीय शान्ता अधिकारीले भनिन् ।

अध्यक्ष कालाखेतीले आफूले निर्वाचनका बेला गरेका प्रतिवद्धताहरु पूरा गरिरहेको बताउँदै अप्ठ्यारोमा परेकाहरुलाई आफ्नो तलब भत्ताबाट निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.