
मकवानपुर, २३ कात्तिक । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधि रिक्त स्थानमा आगामी मंंिसर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ चर्चामा रहेको छ । आगामी उपनिर्वाचनमा मकवानपुर जिल्लामा यही हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १२ मा वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ललितबहादुुर घलान विजयी भएका थिए । वडाअध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो ।
मकवानपुर जिल्लामा यही वडामा मात्र निर्वाचन हुने भएकाले दलहरु कसरी जित्ने भन्ने रणनीति र उम्मेद्वार छनौटमा लागेका छन् । माओवादीलाई गुुमेको वडाअध्यक्ष फिर्ता गर्ने चुुनौती छ भने एमाले र काँग्रेसलाई नयाँ वडा थप्ने आकांक्षा रहेको छ । अन्य दलहरु पनि निर्वाचनको तयारीमा जुुटिरहेका छन् । जसले गर्दा मकवानपुरमा उपनिर्वाचन रोचक हुने देखिन्छ ।
अहिले माओवादी र एमालेले उम्मेद्वारको टुंगो लगाई सकेका छन् भने काँग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेद्वार बनाउने सर्वसम्मत् निर्णय गरेको छ । युवालाई नेतृत्वमा अगाडि बढाउनको लागि प्रधानलाई सर्वसम्मत् उम्मेद्वार चयन गरेको माओवादीले बताएको छ ।
यस्तै एमालेले राजेश नगरकोटीलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा पनि उम्मेद्वार रहेका नगरकोटी यसपटक पनि सर्वसम्मत् उम्मेद्वार छनौट भएका हुन् । गतनिर्वाचनमा नगरकोटीले तेस्रो स्थान हाँसिल गरेका थिए । एमालेको भातृ संगठन युवा संघ नेपाल मकवानपुर अध्यक्ष समेत रहेका नगरकोटीलाई विजयी बनाउन एमाले १२ नम्बर केन्द्रीत छ ।
काँग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुुंगो लगाउन सकेका छैन । वडाबाट पाँच जनाको नाम सिफासिर भएको र जिल्लाले आवश्यक छलफलपछि उम्मेद्वारको अन्तिम टुुंगो लगाउने बताइएको छ । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी भएको छ । गतनिर्वाचनमा पनि तिवारी नै वडा अध्यक्षको उम्मेदवार थिए । उनि उक्त निर्वाचनमा दोस्रो भएका थिए ।
यसबाहेक राप्रपा र नेकपा एसले पनि वडा अध्यक्षको उम्मेदवार चयनमा लागेका छन् । यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो राजनैतिक अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । अहिलेसम्म निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य गर्ने कुनै तयारी भएको पाईदैन् ।
गत निर्वाचनमा कसले कति मत पाए ?
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले बीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिने लक्षण छ ।
गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।
गत निर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन । विजयी भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।
गतनिर्वाचनमा तीनै दलका उम्मेद्वारले प्राप्त गरेको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको मतदाताहरु बताउँछन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan