जोखिमपूर्ण संरचनामा व्यापार नगर्न जिल्ला प्रशासन मकवानपुरको सूचना जारी

मकवानपुर पौष २२ :-  जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका अन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राती पुलसम्मको सडक विस्तार कार्य भइरहेको क्षेत्रमा रहेका भत्काइएका तथा जोखिमपूर्ण घरटहरामा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सडक डिभिजन हेटौंडाद्वारा मिति २०८२/०५/०५ मा प्रकाशित सूचनाअनुसार उक्त सडक खण्ड विस्तारको क्रममा मिति २०८२/०५/२० गतेदेखि सडक सीमाभित्र पर्ने घरटहरा भत्काइएको थियो। सोही क्रममा सहमति सर्वेक्षण आदेशअनुसार सडक विस्तार कार्यलाई सहज बनाउन अस्थायी संरचनाहरू व्यवस्थापन गरिएको भए पनि केही घरधनीहरूले डोजर तथा एक्साभेटर प्रयोगका कारण जोखिमपूर्ण अवस्थामा रहेका घरटहरामै व्यापार व्यवसाय सञ्चालन गरिरहेको पाइएको जिल्ला प्रशासनले जनाएको छ।
यस्ता कार्यले सर्वसाधारणको ज्यान जोखिममा पर्ने सम्भावना देखिएकाले जोखिमयुक्त संरचनाभित्र कुनै पनि किसिमको व्यवसाय सञ्चालन नगर्न, नगराउन तथा नागरिक र संरचना व्यवस्थापनमा खटिएका कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन प्रशासनले अनुरोध गरेको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको मिति २०८२/०९/२२ गते बसेको बैठकको निर्णयअनुसार, जोखिमपूर्ण अवस्थामा व्यवसाय सञ्चालनका कारण कुनै पनि प्रकारको दुर्घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी तथा व्यवसायी स्वयं हुने स्पष्ट गरिएको छ।
प्रशासनले सबै सरोकारवाला पक्षलाई सूचनाको पालना गर्न आग्रह गर्दै, सम्भावित दुर्घटना न्यूनीकरणका लागि सचेत रहन समेत अनुरोध गरेको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.