
मकवानपुर, ०२ मंसिर । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का लागि अध्यक्ष पदमा १४ जनाको उम्मेद्वारी परेको छ ।
बिहान १० देखि अपरान्हन ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारको मनोनयन दर्ता गर्ने कार्यक्रम अन्तरगत हेटौंडा १२ को अध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रबाट रबिकुमार प्रधान (रविन), नेकपा एमालेको तर्फबाट राजेश नगरकोटी, नेपाली कांग्रेसको तर्फबाट अर्जुनप्रसाद तिवारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट आशाबिर बल, नेकपा एकीकृत समाजवादीबाट बलराम बल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भ्लोन, नेपाल मजदुर किसान पार्टीबाट फुलमाया तितुङ, मंगोल नेशनल अर्गनाईजेसनबाट दिपा लामा, जनता समाजवादी पार्टीबाट छबिलाल वाईबाले वडाअध्यक्ष पदमा उम्मेद्वारी दर्ता गराएकाछन् ।

यसैगरी छत्रप्रसाद अधिकारी, गिताकुमारी नेवार, अर्जुन घलान, कुमार पोखरेल र युनेश लामा स्याङ्तानले पनि वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
बिभिन्न कारणले रिक्त हुन आएको स्थानीय तहको ४४ पदहरुमा उपनिर्वाचन हुन लागेको हो । हेटौंडा १२ मा भने गत निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख पदमा निर्वाचित भएपछि वडाअध्यक्ष पद रिक्त थियो ।

हेटौंडा १२ मा ४ हजार १ सय ७४ महिला र ३ हजार ८ सय ७८ पुरुष गरी ८ हजार ५२ जना मतदाता रहेका छन् ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan