अमेरिकाको ४७ औं राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प

ट्रम्प र निर्वाचनको प्रभाव

मकवानपुर, २२ कात्तिक । अमेरिकाको ४७ औं राष्ट्रपति पदमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।
सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा डेमोक्र्याट उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए ।
त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले ट्रम्प निर्वाचित भएको आधिकारिक घोषणा गर्न बाँकी छ ।
अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोटभन्दा बढी भोट प्राप्त गरेपछि ट्रम्प राष्ट्रपति पदमा विजयी हुने निश्चित भएको हो । हाल उनको इलेक्टोरल भोट २७९ पुगेको छ ।

डोनाल्ड ट्रम्प

ट्रम्पले गरे आफ्नो जितको घोषणा
रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्प फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनले आफु अमेरिकाको राष्ट्रपति पदमा बिजयी भएको घोषणा समेत गरेका छन् । उनी श्रीमती मेलानिया ट्रम्प र चुनावी अभियानका कर्मचारीसँग स्टेजमा पुगेका थिए ।
ट्रम्पले निर्वाचनमा सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए ।
ट्रम्पले भने, ‘हामी हाम्रो देशलाई पुनः प्राप्ति गर्न मद्दत गर्नेछौँ । यो अमेरिकाको लागि “स्वर्ण युग” हुनेछ।’
उनले थपे, ‘यो अमेरिकी जनताका लागि ठुलो जीत हो। जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ।’ अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली बहुमत दिएको ट्रम्पले बताएकाछन् ।
ट्रम्पको अभियानको नारा थियो– मेक अमेरिका ग्रेट अगेन । यसको मतलब अमेरिकालाई फेरि महान् बनाउनु हो।

ह्यारिसले दिईन् ट्रम्पलाई बधाई
अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपति पदमामा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् ।
राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहेकी उपराष्ट्रपति ह्यारिसले आफू पराजित भएको स्वीकार गर्दै टेलिफोन गरेर ट्रम्पलाई बधाई दिएकी हुन् ।
ह्यारिसले दोश्रो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पलाई सबै अमेरिकी नागरिकहरूको राष्ट्रपति बन्न सुझावसहित बधाई दिएको बीबीसीले लेखेको छ ।
उनले शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको र सत्ता हस्तान्तरण भएकोमा खुसी समेत व्यक्त गरेकी थिइन् ।

अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिस


ट्रम्प दुबैपटक महिला उम्मेद्वारसँग बिजयी
ट्रम्प अमेरिकाको पूर्व राष्ट्रपति समेत हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म अमेरिकाको ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा पुग्न सकेका छैनन् । सन् २०१६ को निर्वाचनमा हिलारीका सामु उक्त इतिहास रच्ने अवसर थियो । तर ट्रम्पले उनलाई पराजित गरे ।
तर २०२० मा भएको निर्वाचनमा ट्रम्प पुरुष उम्मेद्वारसँग चुनवी प्रतिश्पर्धामा थिए । त्यतिबेला डेमोक्रेटिक पार्टीबाट पूर्वउपराष्ट्रपति जो बाइडेन उम्मेदवार थिए । उक्त निर्वाचनमा बाइडेनले ट्रम्पलाई पराजित गरी अमेरिकाको ४६ औँ राष्ट्रपतिका रूपमा जिम्मेवारी सम्हाले ।
हालै सम्पन्न निर्वाचनमा भने ट्रम्प पुनः बिजयी भए । संयोगले यो पटक पनि उनको प्रतिस्पर्धी महिला नै थिइन् । डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेकी उपराष्ट्रपति कमला ह्यारिस अन्ततः ट्रम्पसँग पराजित भइन् । ह्यारिसले पनि पहिलो महिला राष्ट्रपति बन्ने इतिहास रच्न सकिनन् ।


ट्रम्पलाई बधाईको बधाई
ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा आफ्नो जित भएको दाबी गरेका छन् । फ्लोरिडामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्नो जित भएको बताएका हुन् ।
यद्यपि, उनको जितको औपचारिक घोषणा भइसकेको छैन । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोटभन्दा बढी भोट प्राप्त गरेपछि ट्रम्पले आफु राष्ट्रपति पदमा विजयी भएको घोषणा गरेका हुन् । हाल उनको इलेक्टोरल भोट २७९ पुगेको छ ।
यस बिचमै ट्रम्पलाई विश्व समुदायबाट बधाईको ओइरो आउन थालेको छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पलाई ऐतिहासिक जितका लागि बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिएको) मार्फत बधाई दिँदै बेलायती प्रधानमन्त्री स्टार्मरले आगामी दिनमा आफू ट्रम्पसँग मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन् ।
फ्रेन्च राष्ट्रपति इमानुएल माक्रोंले पनि ट्रम्पलाई बधाई दिँदै आगामी दिनमा सहकार्यका लागि उत्सुक रहेको जनाएका छन् ।
इटालीका प्रधानमन्त्री ज्योर्जा मेलोनीले ट्रम्पलाई बधाई दिँदै इटाली र अमेरिकाबिच अटुट गठबन्धन, साझा मूल्य र ऐतिहासिक मित्रता रहेको उल्लेख गरेकी छन् । ट्रम्पको जितले यो सम्बन्ध अझ मजबुत हुने उनको भनाइ छ ।
यस्तै, हड्डेरीका प्रधानमन्त्री ओर्बान भिक्टरले पनि ट्रम्पलाई शानदार पुनरागमन गरेको भन्दै बधाई दिएका छन् । उनले ट्रम्पको जितलाई ‘विश्वका लागि आवश्यक’ भनेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्रम्पलाई जितको बधाई दिँदै उनको अघिल्लो कार्यकालजस्तै आपसमा मिलेर सहकार्य गर्न इच्छुक रहेको जनाएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पदमा बिजयी भएकोमा ट्रम्पलाई बधाई दिँदै गत सेप्टेम्बरमा ट्रम्पसँग भएको शानदार भेटमा युक्रेन–अमेरिकी रणनीतिक साझेदारी, विजयको योजना र युक्रेन विरुद्ध रुसको आक्रामकता समाप्त गर्ने तरिकाबारे छलफल गरेको कुरा उल्लेख गरेका छन् ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्। राष्ट्रपति पौडेलले ट्रम्पको कार्यकालमा नेपाल–अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको उल्लेख गरेकाछन् ।

अमेरिकी राष्ट्रपति भवन

सुन र तेलको मूल्य घट्यो
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै विश्वको सुन तथा कच्चा तेलको बजार घटेका छन् । यो समाचार तयार पार्दासम्म विश्व बजारमा सुनको मूल्य ०.६३ प्रतिशत तथा चाँदीको मूल्य १.२१ प्रतिशतले घटेको छ ।
त्यस्तै, कच्चा तेलको बेलायती बजार ब्रेन्टमा तेलको मूल्य १.६७ प्रतिशतले घटेर प्रति ब्यारेल ७४.२२ अमेरिकी डलरमा झरेको छ । उता अमेरिकी बजार वेष्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) बजारमा कच्चा तेलको मूल्य १.७४ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७७ मा झरेको छ ।
अमेरिकामा रिपब्लिकन उम्मेदवारलाई कम उदार मानिन्छ । पहिलो कार्यकालमा ट्रम्पले ‘अमेरिका पहिलो’ भन्ने नारा लिएका थिए । त्यही कारणले उनको कार्यकालमा देशको अर्थतन्त्रसँगै अमेरिकी डलर समेत बलियो हुनसक्ने भएकोले विश्वका लगानीकर्ताको रोजाइ सुन र कच्चा तेल भन्दा डलरमा बढी परेको हो ।

१३२ वर्षपछि इतिहास दोहो¥याउन सफल ट्रम्प
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति पदमा पुनरागमन गर्दैछन् । अमेरिकी राष्ट्रपति पदका लागि भएको निर्वाचनमा पपुलर भोटमार्फत विजयी भएका ट्रम्प औपचारिक रूपमा घोषणा हुन बाँकी छ । अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल भोटभन्दा बढी भोट प्राप्त गरेपछि ट्रम्प राष्ट्रपति पदमा विजयी हुने निश्चित भएको हो ।
डोनाल्ड ट्रम्प अमेरिकाको यस्तो दोस्रो राष्ट्रपति हुनेछन्, जसले एक कार्यकाल राष्ट्रपति पद सम्हालेर दोस्रो निर्वाचनमा पराजित भइ तेस्रो निर्वाचनमार्फत सोही पदमा पुनरागमन गर्न सफल भए ।
यसअघि अमेरिकाका २२ औँ राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलो पटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने उनी फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
त्यस यता वा त्योभन्दा अघि कुनै पनि अमेरिकी राष्ट्रपतिले यस्तो सफलता हात पार्न सकेका थिएनन् । १३२ वर्षपछि डोनाल्ड ट्रम्प उक्त इतिहास दोहो¥याउन सफल हुँदैछन् ।
ट्रम्प पहिलो पटक सन् २०१६ मा अमेरिकी राष्ट्रपति बनेका थिए । त्यतिबेला उनले डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए ।
सन् २०२० मा भएको निर्वाचनमा ट्रम्प डेमोक्रेटिक उम्मेदवार जो बाइडेनसँग पराजित भए । सन् २०२४ मा भने ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पपुलर मतमा पराजित गरेका छन् । यद्यपि, इलेक्टोरल मतमार्फत निर्वाचित नभइ अमेरिकाको नयाँ राष्ट्रपति चयन प्रक्रियाको औपचारिकता पूरा भएको मानिने छैन ।

अमेरिकामा फेरि ‘ट्रम्प कार्ड’, ७७० करोड डलरको मालिक
अमेरिकामा एक पटक फेरि ‘ट्रम्प कार्ड’ चलेको छ । अहिलेको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार तथा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जित्ने सुनिश्चित देखिएको छ ।
अमेरिकाको ४७ औँ राष्ट्रपति बन्ने क्रममा रहेका ट्रम्प देशको सबैभन्दा धनाढ्य नेतामा गनिन्छन् । ट्रम्प अर्बौँ डलरका मालिक हुन् । विश्वभर उनको व्यवसाय फैलिएको छ । यसमा मिडिया टेक्नोलोजीदेखि रियल इस्टेटसम्मका व्यवसाय छन् ।
अमेरिकाका धनाढ्य नेता ट्रम्प दोस्रोपटक ह्वाइट हाउस छिर्दैछन् । ट्रम्पसँग कुल ६ अर्ब ६० करोड डलरदेखि ७ अर्ब ७० करोड डलरबीचको नेटवर्थ भएको बताइन्छ । अमेरिकी आर्थिक पत्रिका फोर्ब्सको बिलेनियर्स इन्डेक्सका अनुसार ट्रम्पसँग ६ अर्ब ६० करोड डलरको सम्पत्ति छ । ब्लूमबर्ग बिलेनियर्स इन्डेकसका अनुसार उनीसँग ७ अर्ब ७० करोड डलरको सम्पत्ति छ ।
ट्रम्पले पहिलो पटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिँदा फोर्ब्सका अनुसार सन् २०१६ मा उनको सम्पत्ति साढे ४ अर्ब डलर थियो । तर त्यति नै बेला उनले आफूसँग यो भन्दा बढी सम्पत्ति रहेको बताएका थिए । तर राष्ट्रपति बनेपछि उनको सम्पत्ति घट्यो । फोर्ब्सका डेटा अनुसार सन् २०२० मा सम्पत्ति घटेर २ अर्ब १० करोड डलरमा आयो । कार्यकाल सकिएपछि सन् २०२२ मा सम्पत्ति बढेर ३ अर्ब डलरमा उक्लियो । यही महिना उनको सम्पत्ति ७ अर्ब डलर माथि उक्लियो ।
रिपोर्टका अनुसार ट्रम्पको सम्पत्तिमा सबैभन्दा ठुलो हिस्सा ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको छ । फोर्ब्सका अनुसार यसको खुद मूल्य ५ अर्ब ६० करोड डलर छ । सन् २०२४ को अप्रिलमा ट्रम्पसँग यो कम्पनीमा ११ करोड ४५ लाख ५० हजार कित्ता र अतिरिक्त ३ करोड ६० लाख कित्ता अर्नआउट शेयर थियो ।


२० एकडमा फैलिएको ट्रम्प मेन्सन
विश्वका अन्य धनाढ्यसँग झैँ ट्रम्पसँग एक से एक लग्जरी प्रोपर्टी छ । ह्वाइट हाउस छोडेपछि ट्रम्प यही बस्दै आएका थिए । सन् १९२७ मा बनेको यो भवनलाई ट्रम्पले सन् १९८५ मा किनेका थिए ।फ्लोरिडाको पाम बीचमा १ करोड डलर मूल्यको शानदार मेन्सन छ । सेन्ट मार्टिनमा पनि लग्जरी प्रपर्टी छ ।
ट्रम्प गल्फका पनि सौखिन हुन् । उनीसँग १९ वटा गल्फ कोर्स छ । कार र विमानको कलेक्सनले पनि ट्रम्पको धनको झल्को दिन्छ । वासिङ्टन पोस्टका अनुसार ट्रम्पसँग ५ थान विमान छ भने रोल्स रोयसदेखि मर्सिडिज बेञ्जसम्मका अनगिन्ती लक्जरी गाडी पनि छन् ।

पिताको व्यवसायलाई बढाएका थिए ट्रम्पले
ट्रम्पले आफ्नो पिताबाट रियल इस्टेट कारोबार पैतृक सम्पत्ति पाएका थिए । पिता फेड ट्रम्प आफ्नो जमानामा न्यूयोर्कको सफल रियल इस्टेट व्यापारी थिए । फेडले पत्नी एलिजावेथसँथ मिलेर सन् १९२७ मा रियल इस्टेट कम्पनी सुरु गरेका थिए । सन् १९७१ देखि डोनाल्ड ट्रम्पले आफ्नो पिताको कारोबार सम्हाल्न सुरु गरेका थिए ।

ट्रम्पले एलन मस्कलाई भने, ‘अद्भुत पुरुष’
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूले बिजयी भएको घोषणा गरेका छन् ।
आफ्नो जितको खुसीयालीमा ट्रम्पले कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा खर्बपति व्यापारी तथा विद्युतीय सवारी साधन निर्माता कम्पनीका सीईओ एलन मस्कलाई ‘न्यू स्टार’ भनेका छन् । मस्क यस पटकको चुनावी अभियानमा खुलेर ट्रम्पको पक्षमा लागेका थिए ।
एलन मस्क ट्रम्पको चुनावी अभियानको मुख्य हिस्सै रहे । यसैबिच ट्रम्पले मस्कलाई रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भनेका छन् । यसबाहेक पनि ट्रम्पले उनलाई ‘अद्भुत पुरुष’ पनि भनेका छन् । अमेरिकामा ट्रम्प विजयी भएसँगै उनी ४७ औं राष्ट्रपति हुनेछन् ।

एलन मस्क

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेपछि कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.