
हेटौंडा, १३ कात्तिक/प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आज(मंगलबार)देखि विधिवत् रुपमा आरम्भ हुँदैछ । मंगलबार बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः अर्थात् सूर्योदयकालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. अधिकारीले जानकारी दिए। तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए। बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक १५ गते दिउँसो ३ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा.अधिकारीले बताए । उहाँका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय बिधि रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय बिधि अनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका को साईत १८ गते बिहान ११ः३७ बजे
कात्तिक १८ गते आइतबार भाइटीकाको तिथि रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उहाँले बताए । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ताअघिदेखि राजधानी लगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ। केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् । कोजाग्रत पूर्णिमामा लक्ष्मीको पूजागरी त्यसै दिनदेखि दीपावलीलाई निरन्तरता दिनेक्रम पनि सहरी क्षेत्रमा बढ्न थालेको छ ।
बडादसैँमा सुनसान हुने प्रायः सहरहरुमा तिहारको झिलीमिलीले उत्सवमय बनेको छ । बत्तीको झिलीमिलीसंगै तिहारमा देउसी भैलोको पनि बबिशेष महत्व रहेको छ ।
लक्ष्मीपूजाका दिन भलो होस् भनी भैलो र गोवर्द्धन पूजाका दिन देउसी खेल्ने गरिन्छ । कतिपयले विभिन्न सामाजिक कामको सहयोगका लागि तिहार अर्थात् यमपञ्चक लागेदेखि नै देउसी, भैलो खेल्ने गरेका छन् । विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भने कोजाग्रत पूर्णिमाका दिन देखि नै देउसी भैलो खेल्ने परम्परा पनि रही आएको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan