
हेटौंडा, १२ कात्तिक/निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेद्वारले गर्न पाउने खर्च सीमा निर्धारण गरेको छ ।
आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ र स्थानीय तह निर्वाचन नियमावली २०७३ को ४० बमोजिम उम्मेदवारले मनोनयन पत्र दर्ता भएदेखि परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा निर्धारण गरेको हो ।
आयोगका अनुसार उपनिर्वाचनमा महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।
त्यस्तै, महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपैयाँ र गाउँपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको सीमा निर्धारण भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
निर्वाचन आयोगले बिभिन्न कारणबाट स्थानीय तहमा रिक्त प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुको बाँकी अवधिका लागि पदपूर्ति गर्न आगामी मंसिर १६ गते उपनिर्वाचनको घोषणा गरेको छ ।




युगबोध मिडिया प्रालिद्वारा सञ्चालित
हेटौंडा–४, मकवानपुर
Email: nagariksamachar.htd@gmail.com
9855001217
© 2024 Copyright Yugbodh Media pvt Ltd | All rights reserved. Site By : Keshav samarpan